Ma Mare Pachhi by Buddi Sagar
बुद्धिसागर- के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ।
बिहान
सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला
छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको पो रैछु।
जम्मा
३० वर्षको त भएको थिएँ। बेलाबेला घुच्चुकतिर टनटनी दुखिरहन्थ्यो। निद्रा
कम भएको होला भन्ठानेको त ब्लड प्रेसर पो बढेको रैछ। त्यसका पनि रातैपिच्छे
अनेकथरि कमसल रक्सी। अनि चुरोटका बट्टा। मुटु त गैसकेको रैछ, यार। अलिअलि
त थाह भइसकेको थियो, स्वास्थ्य खराब हुँदैछ। स्वास्थ्य सुधार्न अस्ति
भर्खरै ट्रेडमिल किनेको थिएँ। अठार हजार हालेर। हिँउदे झरीझैं बेलाबेला
बर्सिने तलब साँचेर। पसिना खलखली बगाएको थिएँ। अब त स्वस्थ हुन्छु,
भन्ठान्दै थिएँ। सास त गैगयो।
बिहान
उठ्दा अरू बेलाभन्दा ज्यान तंग्रिएको थियो। झ्यालबाट घाम पसिसकेको थियो।
घडी हेरेँ, सवा आठ भैसकेको रैछ। बाथरुमतिर लाग्दा भनन्न रिङटा चल्यो। थचक्क
बसेँ। सत्य, मैले जन्मेदेखि हिजो सुत्दासम्मका घटना झल्झली सम्झेँ। फिल्म
उल्टो गरी प्रदर्शन भएझैं। मेरा कानमा एकाएक जिन्दगीभरि सुनेका र बिर्सेका
शब्द एकाएक उच्चारण भए। जुरुक्क उठेँ। पिसाबले च्यापेको थियो, फेरेँ।
बाथरुममा तुरुर्र आवाज आयो, तर पिसाब खै?
मरेपछिका लक्षण त यिनै पो हुँदा रैछन्।
मैले
आत्तिएर बाथरुमको ऐना हेरेँ, अनुहार नै देखिएन। फिलिममा त भूतको असली
स्वरुप ऐनामा देखिन्थ्यो, यत्रो साँचो हुनु त्यो कुरा! मरेकाले स्त्रि्कप्ट
लेखे पो! मरेको मान्छे ऐनामा देखिदो रैनछ, मैले थाह पाएँ।
मैले आफ्नै आँखा अगाडि हिरिक-हिरिक गर्दै मरेका मान्छे देखेको थिएँ। म खुसी भएँ। किनभने, मैले त्यसरी मर्न परेन। स्वादले मरेँ।
गर्नुपर्ने
कत्ति काम थिए! संसारै खाने किताब लेख्छु भन्थेँ, अब मरेपछि केको लोभ?
काठमान्डुमा घर बनाउन सकिन्न भनेर भुटभुटिरन्थेँ, मरेपछि के घर के डेरा!
यत्रै सित्ति।
१० वर्षदेखि हृदय कुटुकुटु खाने समस्याहरू एक्कासि खलास भएका थिए।
...
संयोगबस,
बिहान बत्ति थियो। थोत्रो कम्प्युटर खोलेँ। खै कसको हो, वायरलेस
इन्टरनेटको सिग्नल मेरो कोठासम्म आउँथ्यो, म त्यसैलाई युज गर्थें। आज पनि
कनेक्ट गरेँ। छिरेँ उही फेसबुकमा। साथीहरू, बिहानैदेखि संविधानको थपिएको ३
महिनाबारे व्यंग्य र भावुकताले भरिएका स्टाटस पोस्ट गरिरहेका थिए। मलाई पनि
एउटा स्टाटस जमाएर दिऊँजस्तो लाग्यो। होस्, मरेपछि के देश, के संविधान, के
धरति लोक!
सबैभन्दा खतरनाक स्टाटस पोस्ट गरेँ।
साथी हो, हिजो राति म त मरेछु। यो नै मेरो अन्तिम स्टाटस हो। मेरो जीवनमा गाँसिने सबैलाई धन्यवाद।
यस्तो
स्टाटस त अहिलेसम्म कसैले पोस्ट गरेको थिएन होला। मरेपछि पनि अलिकति घमण्ड
जाग्यो। पिलिक्क एउटा कमेन्ट आइत हाल्यो। करिब चार वर्षदेखि मैले पछ्याएकी
र फेसबुकको मेरो स्टाटसमा अहिलेसम्म एउटा पनि लाइक नगरेकी झुम्पाको पो
रैछ। मरेपछि पहिलोपल्ट मुसुक्क हाँसेँ। उसले लेखेकी रैछ- 'हाहाहा, तिमी पनि
कस्तो। ब्यान ब्यान कस्तो स्टाटस लेखेको? हरेक नेपालीको जीवन मरेजस्तै भको
छ। हाहाहा।'
मैले च्याटमा उत्तर दिएँ, 'सत्य, म त साँच्चै मरिसकेँ।'
'पक्का हो?'
'हो।'
'म कल गर्छु।' उसले लेखी।
एक्कैछिनमा उसको फोन आयो। मैले उठाएँ।
'तिमी
यत्ति चाँडै मरौलाजस्तो लागेको त थेन।' झुम्पा रोई, 'तिम्ले लाइन मारेको
पनि थाह थियो। के गर्नु, यसो नखरा देखाएँ। तैपनि भन्दिहालूँ, म तिम्लाई मन
पराउँथँे। अब त मरिहालेऊ।'
मेरो गला अवरुद्ध भो। आँखा ताता भए। आँखा छामेँ, सुख्खा थिए। भनेपछि, मरेपछि आँसु आउँदो रैनछ।
'म पनि माया गथर्ें।' मैले मसिनो आवाजमा भनेँ, 'मरिहालेँ। भन्न सकिनँ। यस्तै रैछ जिन्दगी। अर्को जुनीमा तिम्रो हुने भएँ।'
'स्योर। अर्को जुनीमा।' उसले भनी र सोधी, 'अनि पशुपति कति बेला जान्छौ?'
'दिउँसोतिर। आऊ है त!'
'पक्का।' उसले फोन राखी।
लौ,
फेसबुकमा त कमेन्टको पर्रा नै छुटेछ। ४ सय २१ जनाले लाइक गरेछन्। कमेन्टको
संख्या पनि सय नाघेछ। यत्ति धेरै रेस्पोन्स त मैले जन्मदिनमा पनि पाएको
थिइनँ।
कमेन्ट पनि अचम्मैका थिए।
नयाँ क्षितिजतिरको शुभयात्रा।
यो मुलुकले तपैंजस्तो प्रतिभाशाली मान्छे गुमायो। दुःखी छु।
लौ न, के सुन्नुपर्यो?
ल दाइ, जे होस्। आफू मरेको कुरा आफंैले पोस्ट गर्नुभो, धन्यवाद। यो स्वर्ग-नर्कको कुरा के रछ। लेखिरहनुहोला।
हसाउँछ यार यो मान्छे पनि। ब्यान ब्यान कस्तो जोक गरेको!
अफिसतिरबाट
केही साथीले कमेन्ट लेखिभ्याएछन्, 'भरे, निमेशको ममः पसलमा चिया पिउँदै गफ
गरौंला। अन्तिमपल्ट तिम्रो गफ सुनेर हाँस्न मन छ।'
र,
एउटा छद्मनामीको कठोर कमेन्ट पनि रैछ, 'ठिक भो। रद्दी किताब लेखेर मजस्तो
कोई लेखक छैन भनेर धाक दिन्थिस्। गैछस्। नेपाली साहित्यको भलो भो।'
सुरुमा यो कमेन्टले चित्त दुखेको थ्यो। मन सम्हालेँ। यत्रैसित्ति, मरेपछि पनि के चित्त दुखाइरहनु!
फेसबुकमै थिएँ। मोबाइलको घन्टी बज्यो।
मित्र
पाउलो रैछन्। पाउलोसित हिजै खड्डु केन्द्रमा मदिरापान भएको थियो। उनैले
रक्सी ख्वाउने भएका थिए। म चियामा त पैसा खर्च नगर्ने मान्छे, रक्सीमा त के
पैसा चुहाउँदो हुँ र? हाम्ले देशको चिन्ता गर्दै तुरुक्क आँसु झारेका
थियौं।
'हेलो कविजी।' उताबाट हतारिएको आवाज आयो, 'के हल्ला चलेको, तपैं मरेको भन्ने!'
'हो, म त मरिसकेँ।'
'लौ
यस्तो पनि हुन्छ।' उनको भावुक आवाज, 'हिजो त्यत्रो समय सँगै बसियो,
भन्नुपर्दैन? अनि सुटुक्क मर्दिने? मैले अरूबाट सुन्नुपर्ने तपैं मरेको
खबर? तपैंले मलाई आफ्नो मित्र नै ठान्नुभको रैनछ। मेरो हृदय चिरियो।'
'होइन, त्यस्तो होइन।' मैले कुरा सम्हालेँ, 'मैले पनि अघि भर्खरै थाह पाएँ, आफू मरेको कुरा। फोन गरुँला भन्दैथेँ।'
'ल
जे भो, भो।' उनी सम्हालिए, 'मलाई त तु भेट्न आऊँ जस्तो लागेको थियो तर आज
बन्द पो रैछ। बाइक त जलाइनै हाल्छन्। पर्खिनु किवजी, म हिँडेरै आउँछ।'
'म पर्खिन्छु।' मैले भनेँ, 'अरू साथीलाई पनि खबर गर्छु।'
उनले फोन राखे।
मैले
केही आफूसित गाँसिएका मान्छेको लिस्ट बनाएँ। बीस जना जतिको। र, आफू मरेको
कुरा एसएमएस गरेँ। लेखक भएकाले किताब विमोचनबाहेक अरू बेला साथीलाई
निमन्त्रणा गरेको थिइनँ। आफू मरेको खबर पनि पुस्तक विमोचन शैलीकै भयो।
आदरणीय
साथीहरू, आज बिहानै मैले जटिल जीवनबाट मुक्ति पाएँ। म मरेँ। यो जीवनकालमा
अन्तिमपल्ट तपैंहरूलाई मेरो मृत्यु उत्सवमा सहभागी भइदिन, अनुरोध गर्दछु।
तपाईंको उही मित्र
स्थानः पशुपति आर्यघाट।
समयः दिउँसो ३ बजे। म ठिक टाइममा जल्नेछु।
अनि मित्र हारुकीलाई छुट्टै म्यासेज गरेँ, 'तुरुन्त मेरो कोठामा आइज। म मरिसकेँ।'
बार्दलीमा
बसेर चुरोटको सर्को तानिरहेँ। बन्द भएकाले सडकमा कमै मान्छे थिए।
हतार-हतार हिँडिरहेका थिए। चर्को गर्मी थियो। सोच्न थालेँ- जिउँदै सुतेको
मान्छे उठ्दा त मरिसकेको हुँदो रैछ। के रैछ जिन्दगी! किन हतारिएका होलान्
मान्छेहरू यसरी?
मोबाइल बज्यो। एसएमएस रैछ। पठाउने मेरी विवाहित प्रेमिका रैछन्। लामो समय भेटघाट भएको थिएन।
खाना
बनाउँदै थिएँ। तिम्रो खबर पाएर दुःखी भएँ। एकपल्ट तिम्रो अनुहार हेर्न मन
छ। तर, आज बन्द परेछ। मेरो श्रीमान घरमै छन्। आउन गाह्रो होलाजस्तो छ। तिमी
मेरो समस्या बुझ्छौ। प्लिज, आज पशुपति नजाऊ। जसरी हुन्छ एकदिन म्यानेज गर।
म खिस्स हाँसेँ।
...
मरेको
दिन के फोहरी भएर बस्नु! फेरि घरपरिवारका मान्छेहरू कोठा खानतलासी गर्न
आउने होलान्। मैले कुनासुना सफा गरेँ। ओछ्यानको तन्ना र ब्ल्यान्केट
मिलाएँ। नुहाएँ र सेतो सर्ट लगाएँ। सुद्ध भाको के!
चिया
पिउन निस्कनुपर्ला भन्ने सोचिरहेको थिएँ, मित्र हारुकी हतारिँदै आइपुग्यो।
उनको अनुहारबाट चिटचिट पसिना निस्किरहेको थियो। मलाई हेर्दै एकपल्ट अमिलो
हाँस्यो र कोठाको कुनापट्टिको कुर्सीमा थ्याच्च बस्यो। घुटुक्क थुक निल्यो।
ऊ कसरी कुरा सुरु गरूँ भनेर अल्मिलिइरहेको थियो। बिचरा मेरो मित्र। सोध्यो, 'सन्चै?'
'मरेको मान्छेलाई के सन्चो, के बिसन्चो?'
ऊ खिस्स हाँस्यो।
'घरबेटीलाई पनि खबर दिनुपर्ने।' मैले भनेँ, 'भक्तपुर बस्छन्। होस्, पछि फोन गर्छु। कि चिठी लेख्दिन्छु, तँ पुर्याइदिन्छस्?'
उसले मुन्टो हल्लायो।
'तीन महिनाको भाडा पनि तिर्नु छ, दुई महिनाको दिनुपर्ला। मरेकोलाई त एक महिना माफ गर्लान्, हैन र?'
मित्र अचम्भित भयो।
'कि नदिऊँ?' मैले सल्लाह मागेँ।
'कस्तो कुरा गरेको!' मित्रले भन्यो, 'मरेपछि के काम पैसा! दे, पूरै दे। मेरो पैसा खाएर मर्यो भन्ने किन पार्नु!'
मैले मुन्टो हल्लाएँ।
हारुकीले
मेरो कोठाको सप्पै सामान एकएक गर्दै हेर्यो। कुनातिर एउटा भरि ग्यासको
सिलिन्डर राखेको थिएँ, समस्या पर्छ भनेर। उसले सिलिन्डरलाई प्रेमिकाको
गालाझैं सुम्सुम्यायो र भन्यो, 'यो सिलिन्डर म लैजाऊँ?'
'बल्लतल्ल पन्ध्रसय घुस दे र ल्याको चिज!' म झस्किएँ।
'तँ त मरिसकिस्, किन चाइयो?' उसले भन्यो, 'म जिउँदोलाई दे र जा।'
ए,
हो त। मैले भनेँ, 'लैजा। तर एउटा सर्त छ, आज दिनभरि मसितै हुनुपर्छ।' उसले
फेरि सिलिन्डर मज्जाले सुम्सुम्यायो र मतिर हेर्दै हाँस्यो। जे भए पनि,
जाँदा मित्रलाई मैले अमूल्य चिज दे र जाँदै थिएँ। सन्तुष्टिले आत्मा भरिलो
भयो। भनेँ, 'हिँड, चिया पिउन जाऊँ। च्या पसलमा पनि पैसा तिर्नु छ।'
ऊ बाहिर निस्कियो।
मैले ढोकामा ताल्चा लगाएँ। जुत्ता लगाएँ। हामी घरबाट बाहिर निस्कियौं।
मेरो
मोबाइल बारम्बर बजिरहेको थियो। म्यासेजको पर्रा नै छुटेको थियो। मैले
एउटा-दुइटा त पढेँ, पछि दिक्क लाग्यो। सबैको एउटै भाव त थियो-
तिमी असल थियौ। के गर्नु भगवानले धर्तीबाट असलै लैजान्छ। जसरी हुन्छ म तिम्लाई अन्तिम बिदाइ गर्न पशुपति आइपुग्छु।
एकजनाले त अत्यधिक भावुक भएर लेखनाथ पौड्यालको कवितै पठाएछन्, 'आयो टप्प टिपेर लग्यो, टारेर टर्दैन, त्यो।'
'कत्ति आको म्यासेज!' साथी हारुकी पनि दिक्क भयो।
'मान्छेको मृत्युमा भावुक हुन्छन् नि त!' म बोल्दै थिएँ, फोन बज्यो।
कहिलेकाहीँ कविगोष्ठीमा भेटिने पिकासोले फोन गरेका पो रैछन्। उनी नेपाल
एकेडेमीमा सदस्य पनि छन् क्यारे।
'महान कविज्यू!' उनको आवाज अवरुद्ध थियो, 'मैले भर्खरै खबर पाएँ। भात
खाँदैथे, आधै छाडे। दुःख लाग्यो। तपैंजस्तो महान सृजनाकर्ताले यो धर्ती
छाडेका दिन, कसरी म भात खान सक्छु र!'
'धन्यवाद!' मलाई आफ्नो प्रशंसा सुन्दा बढी बोल्नै आउँदैन।
'तर एउटा कटु कुरा।' उनले अझै रुन्चे आवाजमा भने, 'तपैं नेपाली साहित्यलाई
ठूलो अन्याय गर्दै हुनुहुन्छ। सिधै पशुपति जाने कुरा गर्नुभएछ। यसरी जानै
पाउनुहुन्न। एकै घन्टा भएपनि एकेडेमी आइदिनुपर्यो। तपार्इंका शुभचिन्तकले
तपैंको अनुहार हेर्नु परेन? मैले तपैंको व्यक्तित्व र कृतित्वबारे, एउटा
भाषन पनि तयार गरिसकेँ।'
ए, भाषन गर्न पो रैछ।
'धन्यवाद!' मैले भनेँ, 'आज नेपाल बन्द छ। म हिँड्न सक्दिनँ। मेरो डेराबाट पशुपति नजिक पर्छ। म उतै जान्छु। उतै आउनुस्।'
फोन राख्ने पाएको छैन। अर्को नम्बरबाट फोन आइहाल्यो। ल्यान्डलाइन थियो। मलाई मेरी विवाहित प्रेमिकाको जस्तो लाग्यो र उठाएँ।
'साहित्यकारज्यू हो?' उताबाट पुरुषको मोटो आवाज आयो।
ए, अर्कै पो परेछ। उठाइ त हालेँ।
'तपैंको अवसानको खबरले हामी लालटिन टिभी परिवार असाध्यै दुःखी छौं।'
'धन्यवाद!'
'एउटा कुरा साहित्यकारज्यू!' उताबाट उत्साही आवाज आयो, 'एक घन्टालाई हाम्रो
टेलिभिजनको स्टुडियोमा आउनुपर्यो। तपैंसित लाइभ प्रोगाम गर्ने योजना छ।
मृत्युबारे मृतकसित भेटवार्ता शीर्षकमा।'
'म आउन सक्दिनँ।' मेले भनेँ, 'पशुपतिमा मेरा मित्रहरू आउनेवाला छन्। उतै जान्छु। सक्नुहुन्छ भने उतै आउनुस्।'
'हेर्नुस्, हाम्रो एउटै गाडी थियो। बन्दकर्ताले अघि भर्खरै तोडफोड गरे। हामी आउन सक्दैनौं।'
'म ३ बजेदेखि पशुपतिमै हुन्छु।' यत्ति भनेर मैले फोन राखेँ।
मित्र र म चियापसलमा पस्यौं। भीडभाडै थियो। कोही पत्रिका पढ्दैथे, कोही
चिया सुर्क्याउँदैथे त कोही चुरोटको धुवाँ बुङबुङति उडाइरहेका थिए। कति त
अब देश टुक्रिने भो भनेर चिन्ता गरिरहेका थिए। मित्र र म कुनातिर बस्यौं।
चियापसले साउजीलाई भ्याइनभ्याइ थियो।
म ४ वर्षदेखि नियमित ग्राहक थिएँ। त्यसैले साउजीलाई मेरो टेस्ट थाह थियो। उनले मेरा लागि कालो चिया र साथीको लागि दूधचिया ल्याइदिए।
मैले चियाको घुट्को लिएँ। थाह भो, मरेपछि पनि चियाको स्वाद भने उही रहनेरैछ।
'अनि एउटा कुरा।' मित्र हारुकीले चियाको एक घुट्कोपछि सोध्यो, 'मरेपछि त यमदूत लिन आउँछन् भन्थे, साँचो होला र? तँ त मैसित छस्।'
म हाँसेँ।' त्यै त म छक्क परिरहेको छु। फिलिममा देखाएजस्तो हुन्छ कि भन्ने सोच्या थिएँ, खै आएको छैन। चितामा जलिसकेपछि आउँछ कि?'
साँच्चै यमदुत आयो भने कस्तो होला? फोटो खिचेर फेसबुकमा पोस्ट गर्न पाए क्या रमाइलो हुन्थ्यो।
हाम्ले चिया सक्यौं।
'साउजी!' मैले आलुचना पकाइरहेका साउजीलाई भनेँ, 'मेरो हिसाब-किताब कति भाछ?'
'तलब आयो र?' साउजीले डाडु चलाउँदै सोधे।
'आएको त छैन। अलिअलि जम्मा भएको त थियो, त्यैबाट तिर्न खोजेको।'
'लौ, आएपछि तिर्नुस् न!'
'हैन, आजदेखि म आउदिनँ, अन्तै जान लाको।'
'ए, अमेरिकातिर?' साउजीले अचम्म मानेर सोधे। अमेरिका शब्द सुन्नेबित्तिकै
अरू चिया पिइरहेका मान्छे पनि चनाखो भए। एकजना अधबैसेंले सोधिहाले, 'हो
भाइ, अब यो देश बस्न लायक रहेन। भिसा कसरी पायौ, भाइ?'
'अमेरिका जान लाको होइन।' मैले हाँस्दै भनेँ, 'म त मरेर पो जान लाको।'
'ए!' अधबैंसेले भने, 'सानैमा मर्नुभएछ। बिचरा म त अमेरिका जान लाग्नुभएको हो कि भनेर छक्क परेको!'
उनी पुरानै गफमा फर्किए। फेरि दोकानमा आवाजहरू एकआपसमा मुक्कामुक्की गर्न
थाले। साउजीले उधारोखाता पल्टाए। एकछिन हिसाब गरेपछि उनले भने, 'आठसय छयासी
रुपैयाँ भाको रैछ।'
मैले दिएँ। तर, उनले छयासी रुपियाँ लिएनन्। भने, 'मरिहाल्नुभएछ। छयासी छाड्दे।'
'ल त साउजी, मेरो जीवनकालमा मिठो चिया ख्वाउनुभो, धन्यवाद!' मैले भनेँ, 'फेरि भेटौंला।'
थुक्क, मुखबाट निस्किहाल्यो। साउजीले अमिलो अनुहार बनाए।
हामी बाहिर आयांै।
'एटिएमसम्म जाऊँ पहिला।' मैले हारुकीलाई भनेँ, 'पैसा झिक्नुपर्यो। पशुपतितिर पनि चाहिएला।'
म खासमा पैसाको मामलामा कन्जुस नै थिएँ। एटिएमतिर त जानै नपरोस्जस्तो
लाग्थ्यो। साथीसित रेस्टुरामा बसेर खाँदा बिल आउनेबेला जहिले पनि बाथरुम
जान्थेँ। आउँदा साथीहरूले तिरिसकेका हुन्थे। पछि त के भाको हो कुन्नि, बिल
आउँदैछ भन्ने पहिल्यै सेन्स आउँथ्यो। बाथरुम जाने र फर्किने प्रक्रिया
आफसेआफ हुन्थ्यो।
कति साथीहरू भन्थे, 'मर्नुअघि एककप चिया त ख्वाउलास् नि!'
एटिएमतिर हिँड्दै गर्दा मैले सोचेँ- काठमान्डु आएको १६ वर्ष हुँदा पनि म
ठमेल गको थिइनँ। कुनै मलमा छिरेको थिइनँ। मिठो खाको पनि थिइनँ। साँच्चै,
मोजमस्ती त गरेकै थिइनँ। पत्रिकामा पेज बनाउँदा-बनाउँदै अरू सोच्न पनि
पाइएन। आखिर जिन्दगी त त्यत्तिकै गैगयो। आखिर बैंकमा जम्मा गरेको करिब सात
लाख रुपियाँ के काम?
मेरी विवाहित प्रेमिकाको जन्मदिन आयो कि म मोबाइल बन्द गथर्ें, उपहार
दिनुपर्ने डरले। आफ्नो जन्मदिनमा भने सधैं अन राख्थेँ। किनभने, ऊ उपहार
दिन्थी।
कहिलेकाहीँ डेटिङमा आउने केटी पनि आफैंले बिल तिर्नुपर्ने भएपछि अर्को पालि भेट्नै आउँदैनथे।
मैले त जवानीको सारा मस्ति एटिएममा बन्द गरेर राखेको रैछु। एटिएमभित्र पसेँ र पन्ध्र हजार झिकेँ।
त्यसैबेला मित्र पाउलोको म्यासेज आयो, 'कविजी, हिँडेर आउँदैथेँ, तपैंलाई त
थाह छ काठमान्डुका सडक कस्ता छन् भनेर। हतारिँदै हिँडेको चिप्लिएछ। मेरो
एउटा खुट्टा त मर्किएर हिँड्नै नसक्ने भएँ। सरी है, आज आउन पाइनँ। मिल्छ
भने पशुपतिको कार्यक्रम भोलि राख्न मिल्दैन? भोलि बन्द खुल्यो भने
ट्याक्सीमा आउँछु।'
'ठिक छ, मित्र। यत्रो जीवनकालभरि साथ दिनुभो।' मैले प्रत्युत्तर लेखेँ,
'तपैंको समस्या बुझ्छु। रेस्ट गर्नुस्। मैले धेरै साथीलाई पशुपति आउन
भनिसकेँ। म उतै लागेँ।'
म्यासेज सेन्ड के भएको थियो, सुत्त अर्को म्यासेज आइलाग्यो। अपरिचित
नम्बरबाट। म्यासेजमा लेखिएको थियो, 'दाइ, म भावुक विद्रोही। अस्ति नै एउटा
कथा पठाकोथेँ। अघि फेसबुक हेर्दा पो थाह पाएँ, हजुर त मरिसक्नुभएछ। दाइ,
तपैं त रहनुभएन, तैपनि एकपल्ट अफिसमा मेरो कथाबारे, कुरा गर्दिनुहुन्छ कि?
नत्र, तपैंसितै मेरो कथायात्राको पनि अवसान हुन्छ।'
'भाँडमा जा।' मैले उत्तर लेखेँ।
फेरि मोबाइल बज्यो। मित्र हारुकी म मोबाइलमै व्यस्त भएकाले छट्पटिन थाले।
फोन अफिसबाट आएको रैछ। सहकर्मी मित्र रैछन्। उनी मुरली मकैझैं पड्किन थाले,
'मित्र, तपैं मरेको खबरले अफिसमा खैलाबैला भा छ। तुरुन्त एउटा फोटो इमेल
गर्दिनुपर्यो। संवेदना छाप्ने कुरा छ। अनि एउटा कुरा, अघि भर्खरै तपैंको
अबिच्युरी कसले लेख्ने भन्ने कुरा थियो। सबै जेठ १४ कै न्युजलाई
पछ्याउँदैछन्। आज त कसैले भ्याउलाजस्तो छैन। आफैं लेख्दिनुस् न!'
लौ, अहिलेसम्म आफ्नो बारेमा आफैंले अबिच्युरी त कसैले लेखेको पढेको थिइनँ। म
अलि कठोर भएँ, 'होस्, के मतलब! नलेखे पनि हुन्छ, भन्दिनुस्।'
'त्यसरी कहाँ हुन्छ!' उनी गम्भीर भए, 'नियम भनेको नियम हो। अफिसकै सहकर्मी
मर्दा नलेखेर हुन्छ! तपैंलाई पो मतलब भएन। के भोलि हामी मर्नुपर्दैन?'
म हाँसेँ।
'मलाई पशुपति जान हतार भइसक्यो।'
'तर, एउटा सम्भावना छ। यसो गर्नुस् न! भोलि जानुस् पशुपति। आज चंै तपैं
मरेको हल्ला नफैलाऊँ। तपैं भोलि पशुपति जानुभयो भने पर्सिका लागि अबिच्युरी
लेख्न, तीन जना तयार छन्।'
'म आजै पशुपति गए पनि पर्सि छापे पनि के भो र?'
'त्यसरी पुरानो सम्चार दिनु भएन नि। हाम्रो न्युजरुमको पनि रेस्पोन्सिबिलिटी हुन्छ नि!'
'ल, म सोचुँला।' यत्ति भनेर मैले फोन राखेँ।
छ्या, फेरि फोन बज्यो। यो फेरि अपरिचित नम्बर। मैले हेलो भनेको मात्र के
थिएँ, उताबाट मसिनो आवाज आयो, 'दाइ, म तपैंको शुभचिन्तक हुँ। गुरुकुलमा
एकदुईपल्ट भेट भएको थियो। तपैं पशुपतिमा हुने थाह पाएर आएको। कहाँ
हुनुहुन्छ?'
'ए ए, म आउँदैछु। तीन बजे भनेको थिएँ त।'
'खोइ दाइ, एकजना बूढा मान्छे पनि कुरिरहनु भको रैछ।'
'ल, म हिँडिहालेँ।'
...
सवा १ भैसकेको थियो। सूर्य आकाशको बीचमा थियो। हारुकी र म तिलगंगा आँखा
अस्पतालनेर पुगिसकेका थियौं। हाम्रा पसिना खल्खली बगिसकेका थिए। ज्यान
फलामझैं तातेको थियो। मान्छेहरू हतारहतार हिँडिरहेका थिए। कहाँ-कहाँ पुग्नु
थियो, होला। म त मरिसकेको मान्छे, केको हतार?
'साह्रै गर्मी भयो।' मित्र हारुकीले पसिना पुछ्दै भन्यो, 'आँत नै हरहर भएर
आयो। यसो चिसो बियर पिउन पाए त क्या दामी हुन्थ्यो होला, है!'
चिसो बियर? पहिला त पैसाको लोभै लाग्यो। अनि सोचेँ- मरिसकेँ, पैसा के काम।
मलाई पनि बियर पिउन त मन नलागेको होइन। यसो अरूको किताब विमोचनमा बाहेक
अन्त बियर पिउने सौभाग्य प्राप्त पनि थिएन।
'जाऊँ न त गौशाला चोकतिर कुनै रेस्टुरा खुला छ कि?' मैले शानसहित भनेँ।
'जे होस्, तँ मरेपछि अलि सुधि्रछस्, यार।' मित्र हारुकी खित्त हाँस्यो।
गौशालाचोकबाट रातोपुल झर्ने बाटोतिर एउटा रेस्टुरा खुला थियो। हामी भित्र
पस्यौं। धेरै मान्छे थिएनन्। भएकाहरू ममःका डल्ला मुखमा कोचिरहेका थिए।
कुनातिर एकजोडी भित्तातिर फर्केर एकअर्काको ओठ ठुँगिरहेका थिए। भ्याटभ्याट
घुमिरहेको पंखाले तातो हावा फालिरहेको थियो।
हामी ढोकानेरको टेबुलमा बस्यौं। वेटर आयो।
'दुइटा चिसो बियर।' मैले भनेँ।
'ममः पनि भन न।' हारुकीले आश गर्यो।
'ममः खाने र?' मैले भनेँ, 'घरमा मान्छे मर्दा त कयौं महिना मासु खाँदैनन्। अब आफैं मरेकाले झन् खान मिल्ला र?'
'खोइ, त्यो त थाह छैन।' मित्र पनि कन्फ्युज्ड भए।
जे पर्ला, खाइदिन्छु। मैले अठोट गरेँ- यसो एक हप्तालाई काठमान्डु छाडेर
जानेलाई त हिँड्ने बेला एक प्लेट ममः खाइहालुँ लाग्छ भने म त झन् धर्ती नै
छाडेको मान्छे। भनेँ, 'ल भाइ, दुई प्लेट बफ ममः पनि लेऊ।'
एक्कैछिनमा बियर र ममः आइपुग्यो। चिसो बियरको एक घुट्को पिएर मित्र हरुकीले आनन्दले आँखा चिम्लँदै भन्यो, 'जिन्दगीको मजा आयो, यार।'
मैले पनि गला हुँदै छातीतिर सरिरहेको बियरको मज्जा लिँदै भनेँ, 'वाह, मृत्युको मज्जा आयो।'
पेट डम्म हुँदा सवा दुई भइसकेको थियो। बिल मागेँ। नौ सय आएको रैछ। हजारको
नोट राखेँ र उठेँ। ढोकानेर पुग्नेबेला वेटरले भन्यो, 'सर, बाँकी पैसा?'
'तिमी नै राख।'
वेटर खुसीले करायो, 'सर, फेरि-फेरि पनि आउनुस् है त!'
'आउन्न!' मैले पछाडि नफर्की भनेँ, 'म मरिसकेँ।'
'साइको नै रैछ, यार।' पछाडिबाट वेटरको आवाज आयो।
...
बन्द भएर होला, पशुपति शान्त नै थियो। एकदुई जना मान्छे टहलिरहेका थिए।
बियर र ममःले मलाई अल्छी लाग्न थालेको थियो। हतारिएर हिँड्दा पेटभित्रको
पानी बजिरहेको थियो। हामी सोझै घाटतिर लाग्यौं। दुईचार जना मान्छे हाम्रै
बाटो हेरिरहेका रैछन्।
'ल, मृतक बल्ल आउनुभो' भन्दै जर्याकजुुरुक उठे। मैले हात हल्लाएँ। छ्या, पुलै उद्घाट गर्न हिँडेजसरी पो हल्लाएँ त हात।
एकदुई जनाले फूल बोकेका रैछन्। नजिक आएर फूल दिँदै भने, 'ल, तपंैको नयाँ यात्रा शुभ रहोस्। यो धर्तीमा तपैंको कृतित्व फैलिरहनेछ।'
एकैछिनमा मेरो हात फूलले भरियो। मैले आधाफूल मित्र हारुकीतिर बढाएँ। नेताको पिएझैं उसले फूल सम्हाल्यो।
'अनि हजुर जल्ने प्रोग्राम कतिबेला हो?' एक जनाले सोधे।
'साथीहरू आउँदैछन्। कुर्नै पर्यो। एकछिन टाइम लाग्ला।'
'अलि चाँडै गर्न पाए हुन्थ्यो।' एकजनाले भने, 'म त नयाँबजारदेखि आको। फेरि घर फर्कन ढिला हुन्छ।'
मैले मुन्टो हल्लाएँ।
'दाइ, म कमलेश्वर।' एउटा लिखुरे केटो नजिक आयो, 'अघि फोन गर्ने मै हुँ।
गुरुकुलमा एकदुई पल्ट हजुर्सित भेट भएको थियो। हजुर्को मृत्युले दुःखी छु।'
'धन्यवाद!'
कमलेश्वर थोत्रो र पुरानो सर्ट र पाइन्टमा थियो। कपाल बढेको थियो। चप्पल लगाएको थियो। खुट्टाका नङ बढेका थिए।
'म आउनुभन्दा अघिदेखि नै उहाँले कुरिरहनुभएको थियो।' कमलेश्वरले अल्लि पर
भित्तामा अडेस लागेका एकजना वृद्धतिर देखायो, 'हजुरको चिता खोज्दै आउन भको
रैछ। ठूलो झोला पनि बोक्नु भएको रैछ। हजुर्को आफन्तजस्तो छ।'
मैले ध्यान दिएर हेरेँ। हो त, बूढा ठूलो झोला बोकेर आका रैछन्। कपाल आधा
झरिसकेका। ज्यानमा दौरासुरवाल, बाहिर कालो इस्टकोट। गोडामा कपडाका जुत्ता।
हाम्रा आँखा जुधे। उनले मुस्कुराएजस्तो गरे। म पनि मुस्कुराएँ। म उनीतिर
बढ्नै खोजेको थिएँ, एकजना शुभचिन्तकले मेरो हात समाए, 'अनि, चिताका लागि
नाम दर्ता गर्नुभो?'
'छैन त।' मैले भनेँ, 'कहाँ हो दर्ता गर्ने?'
उनले ठेगाना भने र भने, 'चाँडो जानुस्। दाउरा, घ्यु, घाटे सप्पैको व्यवस्था
गर्नुपर्छ। अनि, एउटा कुरा, चिता नम्बर दुई माग्नुहोला है। यो लकी हुन्छ
रे मर्नेलाई।'
'कसरी थाह पाउनुभो?' म त अचम्म।
'सुनेको नि!'
'जल्नेले भनेको?'
'होइन।' उनी हाँसे, 'ज्योतिषीहरूले भनेको। चाँडो गइहाल्नुस्।'
मैले मित्र हारुकीलाई इसारा गरेँ। हामी नाम दर्ता हिँड्यौं। कमलेश्वर पनि
पछि लाग्यो। वृद्ध मलाई केही भन्न खोज्दैथे। हारुकीले मलाई तानिहाल्यो।
पुक्क गाला उठेका एक व्यक्ति अफिसमा बसेका थिए। थकित तरिकाले कुर्सीमा बसेका थिए। उनले सोधे, 'मर्नेको नाम?'
मैले नाम भनेँ।
'मर्नेको तपैं को?' उनले मलाई गढेर हेरे।
'मै हुँ।'
'ए ए।' उनले फाइलतिर घोप्टिँदै भने, 'कलिलैमा मर्नुभएछ। अनि कति केजी हुनुहुन्छ? हाइट कति हो?'
मैले ७५ केजी र साढे पाँच फिट भने। उनले के-के जाति टिप्दै भने, 'ल, आफ्नो मृत्यु आफैं दर्ता गर्न आउनेलाई १५ प्रतिशत छुट छ।'
आम्मामा, मरेपछि पनि पैसाको त खोलै बग्दो रैछ। दाउराको, पूजाआजाको र घाटेको
पैसा जोड्दा त चिटचिट पसिना नै आयो। चित्त बुझाएँ, आफैंमा लगानी त हो नि!
'ल, तपैंको यात्रा शुभ रहोस्!' उनले फाइल बन्द गर्दै भने, 'तपैंले खोजेकै चिता मिलाइदिएको छु। सप्पै सामान चितामै आउँछ।'
म नमस्ते गरेर निस्केँ।
घाटमा फर्किंदा अलिकति मान्छे घटिहालेछन्। एकदुई नयाँ मान्छे भने मेरो बाटो
हेर्दै रैछन्। देख्नेबित्तिकै उनीहरू मतिर आए। एकजनाले भने, 'तपैंलाई
हार्दिक संवेदना।'
'धन्यवाद।'
'हामी अलि अघि आको।' उनले भने, 'तपैंको अनुहार हेर्नुथियो, हेरिहाल्यौं।
तपैं जल्दासम्म पर्खिन सकिएलाजस्तो छैन। बन्दका दिन ढिला भयो भने घरमा
चिन्ता गर्लान् फेरि।'
'हुन्छ। म मरिसकेको मान्छेको चिन्ता नलिनुस्।' मैले भनेँ, 'हजुरहरू घर गए हुन्छ।'
दुईतीन जनाले एकछिन मतिर हेरे, अनि गए।
दुईजना मान्छे काठ बोकेर आइरहेका थिए। उनीहरूले मेरो चिता बनाउने काठ पो ल्याएका रैछन्।
'दाइ।' कमलेश्वरले भन्यो, 'एउटा सानो कुरा गर्नु थियो।'
ऊ केही भन्न खोज्दैथ्यो, मोबाइल बज्यो। विवाहित प्रेमिका पो रैछ। उनले सोधेकी थिइन्, 'पशुपतिको कार्यक्रम भोलि सार्ने भयौ?'
'म पशुपतिमै छु।' मैले उत्तर लेखेँ।
साढे तीन भइसकेको थियो। बिहान एसएमएसमा पशुपति आउँछु भन्नेहरू त कोई पनि
आइपुगेका थिएनन्। मलाई अलिअलि छटपटी हुन थालिसकेको थियो। त्यसैबेला एकजना
मदिरामस्त मान्छे ढल्पलिँदै आयो। को रैछ?
उसले चितामाथि थुप्रिएका काठतिर हेर्यो र सोध्यो, 'लास खोई?'
'मै हुँ।' म हाँसेँ, 'हजुरको परिचय?'
'म घाटेज्यू।' ऊ बम्कियो, 'यस्तो पनि हुन्छ? न त चिता तयार भा छ, न त मलामी नै छ। मसँग टाइम थोरै छ। चाँडै जल्ने तयारी गर।'
'साथीहरू आउँदैछन्।' मैले नम्र भएर भनेँ, 'बाटोतिर होलान्। बन्द परेर समस्या भाको हो।'
'बन्दमा मर्ने हो?' घाटेले भन्यो, 'मसँग टाइम छैन। भोलि गरे हुन्न?'
म हाँसेँ।
'ल, म दुई खिल्ली चुरोट खार आउँछु। त्यतिबेलासम्म तयार हुनु।'
ऊ गयो।
घाटेसित कुरा गर्दैगर्दा दुईजना मानिस टाप कसिसकेछन्। मलाई तारन्तार
म्यासेज आइरहेको थियो- म पुग्नै लागेँ/पुगिसकेँ। तर कोई आइपुगेको थिएन।
त्यसैबेला झुम्पाको फोन आयो।
'कहाँ छौ?' उसले हतारिँदै सोधी।
'पशुपति।' मैले भनेँ, 'खोई त आको?'
'हेर न म स्कुटी लेर आउँदैथेँ।' उसले निरास स्वरमा भनी, 'बानेश्वर चोकमा बन्दकर्ताले हावा खुस्काइदे।'
'अनि?'
'म पशुपति जान लाको पनि भनेँ तर मानेनन्।' उसले भनी, 'हेर न बल्लतल्ल किनेको स्कुटी। तोडफोड भयो भने त!'
म चुप रहेँ।
'यसो गर प्लिज।' उसले आग्रह गरी, 'भोलि जल न। जसरी हुन्छ आउँछु के!'
'ल, म कोसिस गर्छु।'
अचम्मै भयो। मैले यस्तो होला भन्ने सोचेको पनि थिइनँ। कोई पनि आएन। न त
एकेडेमी सदस्य पिकासो, न त लालटिन टिभी। न त मेरा हितैषी मित्रहरू। घाटमा
भएका एकदुई जना पनि चुरोट तान्न गएकाथे, फर्केनन्। साँझको घाम बिस्तारै
आकाशलाई रक्ताम्य बनाउँदै गयो।
आखिर घाटमा एक वृद्ध, कमलेश्वर, हारुकी र म रह्यौं।
त्यसैबेला घाटे फर्कियो।
'यस्तो पनि हुन्छ। मेरो अफिस टाइम सक्यो।' घाटेले भन्यो, 'सयौं मान्छे जलाइसकेँ, तिम्रोजस्तो अनम्यानेज्ड मराइ त कसैको थिएन हो!'
म वाल्ल परेँ।
'ल, अब तिम्लाई भेट्न घाटमा कोई आउलाजस्तो छैन।' उसले भन्यो, 'म पनि गएँ।
बूढी घरमा छैन। छाउराछाउरी भोकै पर्छन्। बरु भोलि दस बजे नै आउँछु।'
ऊ गयो।
ममा झन् तनाव थपियो। मेरो तनाव देखेर कमलेश्वर छेउमा आयो। एक खिल्ली चुरोट
मतिर बढाउँदै भन्यो, 'ल दाइ, चुरोट तान्नू, तनाव कम हुन्छ।'
मैले चुरोट ओठमा च्यापेँ। कमलेश्वरले लाइटर बाल्यो।
त्यसैबेला अघिदेखि मलाई केही भन्न कुरिरहेका वृद्ध नजिक आए। र, भने, 'बाबु, एउटा गोप्य कुरा गर्नु छ।'
र, उनले मेरो हात समातेर अलिपर लगे र मेरो कानमा भने, 'हेर्नुस् बाबु, मेरो पनि सल्लाह मान्नुस्। जल्ने कुरा ३ चार दिनपछि सार्नुस्।'
'अनि हजुर को नि?'
'म यमदूत हुँ, बाबु।'
लौ बा, यमदूत यस्ता मायालाग्दा बूढा पो रैछन्। धर्मशास्त्रमा त क्रुर, हेर्दै डरलाग्दो वर्णन गरिएको हुन्थ्यो।
'बाबुले पत्याउनु भएन?' उनले मेरो हात समाए, 'म यमदूत नै हुँ। नेपालाँ
पोस्टिङ भाको ४४ वर्ष भो। पहिला तन्नेरी थेँ, गन्धैले मान्छे मर्न लाको थाह
पाउँथँे र आउँथेँ। अहिले अलि गन्ध सुघ्न सक्दिनँ। बल्लतल्ल तिम्लाई
खोजेँ।'
'अब म के गरूँ त?' मैले सोधेँ।
'हेर्नुस् बाबु, तपैं अहिले नै जल्नुभो भने म तपैंलाई लिएर
हिँडिहाल्नुपर्छ। जलिहाल्नुहुन्छ कि भनेर झोलै बोकेर आछु। महिनौ
हिँड्नुपर्छ।' उनले लामो सास फेरे, 'म ऐले क्षयरोगको औषधी खाइरहेको छु।
तपैंले जल्ने कुरा एकदुई दिनपछि सारे, म आभारी हुने थिएँ।'
मैले उनको अनुहार हेरेँ, उनका ओठ काँपिरहेका थिए।
अब के गर्नु! झमक्क रात परिसकेको थियो। मित्र हारुकी पनि छट्पटिरहेका थिए। मैले यमदूततिर हेरेर भनेँ, 'तपैं जानुस्।'
उनले झोला बोके। मैले सोधेँ, 'अनि बाजे कहाँ बस्नुहुन्छ?'
'स्यम्भुमा ममः पसल खोलेको छु, बाबु। सिटी टप ममः नाम हो। जसलाई सोधे पनि देखाइदिन्छन्।'
उनी गए।
'हो, दाइ आज क्यान्सिल गर्नुस्।' कमलेश्वरले भन्यो, 'दाइ, खासमा केही दिन यतै बस्नुस्। म तपैंलाई एक ठाउँ लैजान्छु।'
'कहाँ?' मैले चुरोटको ठुटो पैतालाले कुल्चेँ।
'भूतमान्डु।' उसले सानो स्वरमा भन्यो, 'भूतमान्डुमा तपैंको खाँचो छ। त्यसैले त म बिहानैदेखि खबर गर्न बसेको।'
'भूतमान्डु?' म कन्फ्युज्ड भएँ।
'हो दाइ, हामी भूतहरूको पनि त सहर छ, काठमान्डुमा।'
'हामी भूत?'
'दाइ, म पनि भूतै हुँ नि!' ऊ हाँस्यो।
मित्र हारुकीको अनुहार बिग्रियो।
'लौ, कहिले मरेका हौ?'
'१३ वर्ष भो, दाइ।' उसले भन्यो, 'म अलि तर्साउन, मान्छेलाई बिरामी बनाउन असफल भएँ। अहिले साहित्य र कला बिट हेर्छु।'
'साहित्य र कला बिट?'
'कुनै साहित्यकार र कलाकार मरे भने म नै भूतमान्डुको निमन्त्रणा दिन आउँछु। त्यै भएर त गुरुकुल गइरहन्थेँ।'
लौ, अचम्म।
'अनि कहाँ छ भूतमान्डु?'
'दाइ, ठ्याक्कै भन्न सक्दिनँ।' उसले भन्यो, 'रत्नपार्कबाट केही माइक्रो छन्, त्यहाँ जाने।'
'म त प्रायः रत्नपार्क गइरहन्छु, मैले त कहिल्यै भूतमान्डुबारे सुनिनँ त।'
'अनि काँ दाइ, भूतमान्डुको माइक्रो त मरेपछि मात्रै देखिन्छ।' उसले भन्यो,
'एक्सिडेन्ड भएर काम नलाग्ने भका सबै गाडी भूतमान्डुको रुटमा चल्छन्।'
नयाँ कुरा थाह भो। मैले सोचेँ- न त जिउँदो रहेँ, न त जल्न नै पाएँ। न त मलामी नै पाएँ। भावीको लेखा। के गइदिऊँ त, भूतमान्डु?
'ल, म भूतमान्डु जाने कि नजाने भनेर भोलि सोच्छु है त!'
कमलेश्वरले मुन्टो हल्लायो।
आखिर धेरै मित्रहरूले सोचे होलान्- मरेको मान्छेसित के संगत गर्नु! मरेको
मान्छे काम लाग्ने पनि त होइन नि। त्यै भएर आएनन्। यत्रैसित्ति। मलाई पनि
जल्न केको हतार!
जीवनकालभरि कन्जुस थिएँ, मरेपछि मस्ती गर्छु।
मैले अलि ठूलो स्वरमा भनेँ, 'ल साथी हो, ठमेल जाऊँ। पैसाको चिन्ता नगर। आज सेलिब्रेसन गर्नुपर्छ।'
...
डान्स रेस्टुरामा निर्वस्त्र केटीहरू नाचिरहेका थिए। ठुल्ठुलो आवाजमा
म्युजिक बजिरहेको थियो। चुरोटको धुवाँ उडिरहेको थियो। मातमा मान्छेहरू
वेट्रेसलाई अँगालो मारिरहेका थिए।
हारुकी, कमलेश्वर र म भित्र पस्यौं।
हाँस्दै एउटी अर्धनग्न युवती नजिक आई र कुनातिरको टेबुलमा लगी। हारुकी र
कमलेश्वर खिस्स-खिस्स हाँसिरहेका थिए। म भने असाध्यै नर्भस भएको थिएँ।
हाम्ले बियर माग्यौं।
एउटी युवती मेरो छेउमा आएर बस्दै मुसुक्क हाँसी। र, सोधी, 'पहिलोपल्ट आउनुभाको?'
'हो।'
'तपाईंलाई 'केही' चाहिए मलाई भन्नुहोला। म ख्याल राख्छु।' उसले आँखा हेर्दै भनी। उसको इसारा अर्कैतिर थियो।
'मलाई केही चाहिएलाजस्तो छैन।' मैले भनेँ, 'किनभने, म मरिसकेँ।'
'उस्।' ऊ हाँसी, 'त्यै भएर त स्वर्गमा आइपुग्नु भो नि। ह्याँ आइसकेपछि त कत्ति लास भइसकेकाहरू जुरुक्क-जुरुक्क उठ्छन्।'
म हाँसेँ।
'देख्नुभो दाइ, मान्छेहरू कत्ति मोजमस्ती गर्दा रैछन्।' कमलेश्वरले भन्यो,
'तपंै भूतमान्डु हिँड्नुस् क्या। भूत बनेपछि रमाइलो हुन्छ। अर्को कुरा,
अहिले न्युरोड एरिया खाली छ। नयाँ भूत पोस्टिङ हुन बाँकी छ। म तपैंका
पक्षमा लबिङ गरुँला।'
'साँच्चै हो?'
'हो दाइ, न्युरोडमा एक वर्षमात्र पोस्टिङ भो भने करोडौं कमाउँछन् भूतहरू।'
कमलेश्वरले मेरो कानमा मुख जोत्दै भन्यो, 'किनभने, दाइ सारा मुलुकमा
भूतहरूकै शासन जो छ।'
हाम्रो कुरा सुनिरहेको हारुकी हाँस्यो, 'मलाई पनि मरूँमरूँ लाग्यो त। रमाइलो हुने रैछ।'
म चुप रहेँ। किनभने, मरेकै दिनदेखि मैले जिन्दगी जिउन सिकेको थिएँ।
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
Swarga Bunk by Buddi Sagar
Swarga Bunk 1................. स्वर्ग बंक ..........................................
अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ। माथि हेर्दा आँखा तिर्मिराउने भर्याङको आठसय छप्पन्न खुट्किलामाथि छु। हिँड्दा खुट्किला गन्ने बानी पनि राम्रै हो, कम्तीमा उक्लिएका खुटि्कला त याद रहे। पिडौला बेस्मारी गलेका छन्। आँत सुकेको छ।
हिँडेको हिँड्यै छु।
सिढीमा कनी-कनी उक्लिरहेका बुढाहरू पनि भेटिन्छन्। ती मुन्टो निहुराउँदै हिँड्छन्। कुन्नि कुन देशबाट आका हुन्, भाषा पनि बुझिन्न।
बीचमा एकजना बुढा भेटिएका थिए। नेपाली नै रैछन्।
‘कता हिँड्यौ?' उनले सोधेका थिए।
‘मरेदेखि यै सिढी उक्ल्या छु।'
‘तिमी त जवानीमै मरेछौ, मज्जाले हिँड्न सक्छौ,' बुढाले सास फेर्दा जिब्रो बाहिर निकालेका थिए, ‘आफूलाई त केको श्राप परेको हो, कुन्नि! बुढेसकालमा मरँे। हिँड्नै सक्दिनँ।'
‘बिस्तारै हिँड्नुहोला,' मैले भनेको थिएँ, ‘यो सिढी स्वर्गैतिर त लाग्या होला।'
बुढा केही भन्न खोज्दैथे। म हुत्तहुत्त माथितिर दगुरेको थिएँ।
त्यसपछि कोही नेपाली भेटेको छैन।
थ्याच्च बस्दै - उठ्दै - हिँड्दैे फेरि एक हजार खुटि्कला उक्लिएँ। पर... मान्छेको हुल देखियो। एउटा-दुइटा घर पनि देखिए।
सिढी सक्किएर सम्म बाटो आएको थियो, म बेस्मारी दगुरेँ।
काँडेतारले घेरेको ठूलो चौरमा ठेलमठेल मानिस थिए। काँडेतारको एकछेउमा ठूलो गेट थियो। गेटमा चार-पाँच जना मुस्तन्डे। टाउकामा फलामका गोला टोपी। ज्यानमा गेरुबस्त्र।
‘कता?' एउटाले सोध्यो।
‘हिजै मात्रै मरेको हुम्?' म हाँसेँ, ‘कता जाने हो, था छैन।'
‘भित्र गएर हाकिम सापलाई आफ्नो हिसाब-किताब देखाउने,' अर्कोले भन्यो, ‘अनि जाँ-जाँ भन्नुहुन्छ, त्यतै जाने।'
‘को हाकिम साप?'
‘चित्रगुप्त हाकिम साप!' अर्को हाँस्यो, ‘हिहिहि... मर्नेबित्तिकै उहाँलाई भेट्नुपर्छ भन्ने थाहा छैन? बुढाको ब्लडप्रेसर बढेको छ... ख्याल राख्नू। रिसाए भने स्वर्ग पठाइदेलान्।'
‘स्वर्ग जान पाए त राम्रै भो नि!'
‘गइस् स्वर्ग, लन्ठु!' पहिलो हाँस्यो, ‘बडो सवाल-जवाफ छस् तँ?'
‘मरेपछि सबै स्वर्ग जान चाहन्छन्,' मैले गम्भीर भएर भनेँ, ‘मैले पनि स्वर्ग जानेजत्तिको धर्म गरेकै छु।'
‘बढी बोल्दो रैछ ए,' एउटाले खुट्टा उचाल्यो, ‘साप बुटले हानँू?'
‘हुन्दे,' दोस्रोले भन्यो, ‘स्टुडेन्ड पोलिटिक्सवालाजस्तो छ।'
‘होइन,' म गर्वले उभिएँ, ‘पत्रकार हुम्।'
‘पत्रकार रैछ... बुटले हानम्?'
‘हुन्दे,' खुट्टा उचाल्नेवालालाई शान्त पार्दै पहिलोले भन्यो, ‘ठेट्नै छ।'
अनि उसले मलाई नियालेर हेर्यो, ‘पचास रुपैयाँ दे।'
‘किन?' म सजग भएँ।
‘इन्ट्री फि।'
‘मरेको मान्छेले काँबाट पैसा ल्याउनु?'
‘पहिलोपल्ट मरेको स्वाँठ!' दोस्रो झर्कियो, ‘गोजी छाम।'
लौ, मनी ब्याग त रैछ! म त अचम्मै भएँ, मरिसकेपछि पनि पर्स त गोजीमै हुँदोरैछ। झिकेँ।
‘खुरुक्क दे,' आदेश आयो, ‘नत्र यतै बाहिर सडेर बस्लास्!'
जाबो पचास त हो नि, दिएँ।
‘याँबाट सिधै भित्र जानू,' रसिद दिँदै एउटाले बाटो देखायो।
बाटोछेउछाउ झोक्राएका, हाई काढिरहेका मान्छेलाई छल्दै म ठूलो भवनको गेटमा उभिएँ। जसको निधारमा एउटा साइनबोर्ड टाँगिएको थियो - मनुष्य भन्सार सेवा, मुख्यालय।
‘रसिद छ?' कम्मरमा तरबार झुन्ड्याएको पालेले सोध्यो।
मैले दिएँ।
‘टाइममै आएछौ,' उसले भित्रको बाटो देखायो। म लुरुलुरु भित्र गएँ। कोठ-कोठामा मानिसको भीड थियो। धेरैको अनुहारमा पसिना।
‘मेरो फाइल अड्केको चौध दिन भो,' एउटा बुढो कराइरहेको थियो, ‘उता सन्तानले तेह्र दिनको श्राद्ध पनि सकेहोलान्... बा स्वर्ग पुगे भने होलान्... याँ यसरी लट्काउन त भएन नि!'
‘के गर्नु बाज्या,' तरबारवालाले सम्झाइरहेको थियो, ‘पहिल्यै हाकिम सापलाई खुसी बनाउनुस् भनेकै हो, मान्नुभएन।'
‘मरेपछि छातीमा राखेर लैजान मिल्दैन भनेर सारा सम्पत्ति दान गरेँ,' बुढाले पसिना पुछे, ‘फुटेको कौडी छैन।'
म अघि बढेँ।
एउटा ठूलो ढोकाअगाडि उभिएको पालेले सोध्यो, ‘रसिद काट्या छौ?'
मैले दिएँ।
‘हाकिम साप भित्रै हुनुहुन्छ,' उसले भन्यो, ‘चर्को स्वरमा नबोल्नू। उहाँलाई तीनपल्ट हर्ट अट्याक भइसकेको छ।'
म भित्र पसेँ।
तर उनलाई कतै देखिनँ। भित्ताभरि थरीथरी हिरोहिरोइनका फोटा थिए। पश्चिमतिरको भित्तामा जरायोको सिङ टाँगिएको थियो।
थोत्रो टेलिफोन सेटको छेउमा नेमप्लेट थियो - कार्यालय प्रमुख/चित्र गुप्त।
मैले गोजी छामेँ, मोबाइल सेट पनि रैछ। लौ, टावर पनि छ।
‘तुरुन्त मोबाइल अफ गर,' अचानक टेबुलमुन्तिरबाट आवाज आयो, ‘रिङटोनले मलाई असर गर्छ।'
अनि, चित्रगुप्त टेबुलमुन्तिरबाट उठे। उनले टेबुलमा पेपेरवेट राखे।
म मोबाइल अफ गर्न थालेँ।
‘सिमकार्ड कुन कम्पनीको हो?' उनले चिम्सा आँखाले मलाई हेरे।
‘एनटिसी।'
‘भो... भो... अफ गर्न पर्दैन,' उनले लामो हाई काढे, ‘फोन लागे पो!'
म ठिंग उभिएँ।
‘बाइकवाला हौ?' उनी कुर्सीमा बसे।
म ट्वाल्ल परेँ।
‘बाइक एक्सिडेन्टमा मरेका हौ?'
‘हजुर।'
‘हजार रुप्पे लेऊ।'
म झन् ट्वाल्ल!
‘झन्झट गर्नुपर्दैन क्या,' उनी मन्द-मन्द हाँसे, ‘सोझै नर्क पठाइदिन्छु।'
‘म त स्वर्ग जान्छु।'
‘भनेको मान। तिमी मेरै नातिजस्तै छौ। म तिमीलाई राम्रै सुझाव दिन्छु। हेर, स्वर्ग पट्यारलाग्दो हुन्छ।' उनले एउटा फाइलको ढड्डा देखाए, ‘स्वर्ग पुगेकाले नर्क जान पाऊँ भनेर दिएका निवेदन हुन् यी। तिमीलाई नर्क चित्त बुझेनछ भने मलाई भन्नू म तुरुन्त स्वर्ग पठाइदिउँला।'
मरेपछि म पहिलोपल्ट यति धेरै छक्क परेँ।
‘बटुवामा पैसा छैन र?' उनले सोधे।
मैले पर्स खोलेँ, रैनछ। सात-आठ सय त हुँदो हो।
‘ए कार्ड रैछ त,' उनले मेरो पर्सको भित्री जेबबाट आधा बिट बाहिर निस्केको एटिएम कार्ड देखेछन्, ‘कुन बैंकको हो?'
‘नबिल।'
‘साह्रै झन्झटिलो छ यो,' उनले नाक खुम्चाए र टेबुलमुन्तिर हात लगे। एकैछिनमा तरबारवाला दगुर्दै आयो।
‘यो कार्डबाट हजार रुप्पे काटेर ल्याऊ।'
काम एकैछिनमा भयो।
‘लौ त... अल्लिबेरमा नर्क जाने बस आउँछ। राम्ररी जानू,' उनले अर्को नयाँ चिटसँगै कार्ड फिर्ता दिए, ‘यो चिट यमदुतलाई देखाउनू।'
मैले लिएँ।
टेबुलको फोनको छातीमा पिलिक-पिलक बत्ती बल्यो। चित्रगुप्तले झन्झट मान्दै उठाए।
ढोकानेर पुग्दा मैले सुनेँ, ‘हजुर प्रभु... म तुरुन्त नै नर्क पठाइदिन्छु... अलि हिसाब-किताब नमिलेर हो।'
...
नरक यातायात।
२ बाई २ लक्जरी कोच।
‘नर्क... नर्क...,' खलासी चिच्चाइरहेको थियो। बेलाबेला ढ्याम्म-ढ्याम्म बसको ढोकामा हिर्काउँथ्यो।
बसमा ठेलमठेल मानिस थिए। छतमा पनि। भित्र छिरूँ कि बाहिर, म अल्मलिएँ।
‘छतमा होइन,' मलाई देखेर खलासी करायो।
‘सिट छ?' म उसको छेउ पुगेँ।
‘छ... छ,' ऊ हाँस्यो, ‘नर्क जान पनि केको सुविधा?'
म ढोकामा के उक्लेको थिएँ, खलासीले बाहिरबाट भित्रै ठेल्यो। म मान्छेका कुइनाबाट जोगिँदै भित्र पसेँ। एक-दुईजनाले त बोमिट पनि गरिसकेछन्। जुत्ता बिग्रिने डरले म खुट्टा बंग्याउन थालँे। ‘ओ... गड,' छेउको सिटको मान्छे करायो। ज्या कुल्चिएछ! म कता जाऊँ?
‘भाइ नेपाली हो?' पछाडिबाट आवाज आयो।
म त्यता फर्किएँ।
एकजना अधबैंसे मानिस रैछन्। ठुलो भुँडी पल्टाएर सिटमा बसेका थिए।
म उनको छेउ पुगेँ।
‘के गर्नु, मरेपछि पनि नेपाली नै प्यारो लाग्दोरैछ,' उनी हाँसे।
म उनीछेउ उभिएँ।
‘भाइ सिधै नर्क हो?'
म अल्मलिएँ।
‘स्वर्गबाट भागेर त आका होइनौ?' अधबैंसे हाँसे।
‘म त मर्नेबित्तिकै यहाँ आको हुम्।'
‘भाग्यमानी रछौ,' उनी हाँसे, ‘म त साढे तीन वर्ष स्वर्ग बसेको थिएँ। दिक्क लागेर भागेँ।'
‘किन दाइ?'
‘क्यार्नी त, ढोकामा नै अप्सराले प्रणाम गर्छे। छुन पाइँदैन...। रुखैरुख चरैचरा। झरनै झरना। आफ्नो त भात नखाई निर्दै नलाग्ने बानी... फलफूल खाएर के सुत्न सक्दो हुँ! जता हेर्यो बुढैबुढा, जोगी जोगी। बुढी आमैहरूलाई त बाती कात्दै बुहारीलाई गाली गर्नै ठिक्क। भजन गा छन्, बस्या छन्। यसो घुम्न गो, गान्धीजी चर्खा बुनेको बुन्यै। मार्क्स किताब लेखेको लेख्यै। आइन्सटाइन हिसाब गरेको गर्यै। एउटा रुखमुन्तिर बुद्धलाई देखेँ। बुढासित यसो ज्ञानगुनका कुरा गरौं भनेको त ध्यान गरेको गर्यै। छ महिनामा आँखा उघारे -
‘को हौ? कहाँबाट आका हौ?' उनले सोधे।
‘म भीमबहादुर हुँ, प्रभु,' मैले हात जोडेँ, ‘मरेर आको।'
‘मान्छे किन मर्छ?' भनेर उनले आँखा चिम्लिए, फेरि उघारेनन्। मलाई दिक्क लाग्यो र टाप दिएँ। नर्कमै रमाइलो हुन्छ रे!
भीमबहादुरको कुरा सुनेर म पनि मख्ख परेँ।
‘ल हेर, स्वर्ग जाने बाटो,' उनले झ्यालबाहिर देखाए।
पर... उकालो बाटो रैछ। एक-दुई जना वृद्धवृद्धा उक्लिरहेका थिए।
‘अब स्वर्गतिर बस पनि चल्दैन,' भीमबहादुर हाँसे, ‘कोही गए पो चल्नु। स्वर्ग जानेलाई साह्रै कष्ट भाछ।'
बाटो अलि खराब परेछ, बस यताउता ढल्किन थाल्यो। बसका सारा मान्छेले सिटको डन्डी समाए।
‘मरेकालाई पनि के डराउनुपरेको होला!' खलासीको आवाज सुनियो, ‘हाम्रा गुरुजी कलिलै उमेरमा छपल्ट बस पल्टाएर याँ आइपुगेका हुन्... डराउनुपर्दैन।'
एकछिनमा खलासी पैसा उठाउँदै यताउता चेप्पिँदै बीचमा आइपुग्यो। उसले नोट मुखमा च्यापेको थियो।
‘बाबु पैसा छैन,' एकजना बुढाले भने, ‘सबै मर्नुअघि दान देको।'
‘पातकी बुढा, ढाँट्छौ?' खलासी करायो, ‘धर्मकर्म गरेको भए त स्वर्ग जाँदा हौ।'
‘त्यसो नभन, बाबु।'
‘काँ हुन्छ त्यसरी?' खलासी कड्कियो, ‘एकवर्ष घाटामा स्वर्गतिर बस चलाइयो। बल्ल त नर्कको टि्रप पर्या छ।'
...
बस घ्याच्च रोकियो।
मैले झ्यालबाट बाहिर नियालेँ, अटेसमटेस मान्छेको भीड थियो। कोही कता दगुरिरहेका कोही कता। बसबाट झर्दै गर्दा म फेरि अल्मलिएँ।
भीड लम्किरहेको थियो। पर... ठूलो गेट थियो। जसमा ठुल्ठुला अक्षरमा लेखिएको थियो - नरक महानगरमा मनुष्यलाई स्वागत छ!
म त्यतै लागेँ।
गेटनेरको पर्खालको भित्तामा मानिसको भीड थियो। त्यहाँ नरक प्रवेशअगाडि पढ्नैपर्ने जरुरी सूचना टाँगिएको रैछ, विभिन्न भाषामा। म नेपाली भाषा खोज्दै हिडेँ, भेटियो। भीडको अघिपट्टि नै रैछन् भीमबहादुर।
सूचनापाटीमा लेखिएको थियो -
१. नरक प्रवेशलगत्तै मनुष्य भन्सारबाट प्राप्त चिट यमदुतलाई देखाउनुहोला र तोकिएको सजाय भोग्नुहोला।
२. आफूसँग भएको रुपियाँ सटही काउन्टरमा गएर ‘नरकधन'मा परिवर्तन गर्नुहोला।
३. केही घुसपैठहरूले नरकबारे पृथ्वीलोकमा गलत हल्ला फैलाइरहेकाले कृपया आफूसँग भएको ‘हातेफोन' ‘नरकसञ्चार'को कुनै पनि शाखामा बुझाउनुहोला। हातेफोनलाई अहिले नरकको सबैभन्दा खतरनाक हतियार मानिएको छ।
४. यो पृथ्वीलोक होइन, त्यसैले रातिराति हिँडडुल गर्न छुट छ। कसैले नराम्रो व्यवहार गरे नजिकको ‘नरक-दुत प्रभाग'मा सम्पर्क गर्नुहोला। तिनले तपाईंलाई होइन, दोषीलाई कारबाही गर्नेछन्।
५. राँगो नरकको राष्ट्रिय जनावर हो। त्यसैले बफ मःम निषेध छ।
६. जताततै थुक्न र पिसाब फेर्न सख्त मनाही छ। नियम तोडेको भेटे जुन अंगको दोष देखिन्छ, त्यसलाई तातो तेलमा डुबाइनेछ।
७. तपाईंलाई अरू कुरामा नरक बसाइले सुसंस्कृत बनाउँदै लैजानेछ।
तपार्इंको नरकबसाइ आनन्दमय होस्!
.... श्री यमराज।
सूचना पढेर गेटतिर बढ्दै गर्दा भीमबहादुरले मलाई देखिहालेछन्।
‘ए भाइ... सँगै जाऊँ, ' उनले भने।
हामीसँगसँगै गेट प्रवेश भयौं।
भित्रपट्टि यमदुतहरूको लामो लहरो थियो। ती सबैको हातको चिट पढिरहेका थिए। भीमबहादुर र म भर्खरै खाली भएका यमदुतको अगाडि उभियौं।
मैले चिट दिएँ।
‘तिम्रै हो?' यमदुतले मलाई नियाल्यो।
मैले मुन्टो हल्लाएँ।
‘तेस्रो गल्लीको घर नम्बर १४ मा गएर हरेक दिन पाँच मिनेट एक महिनासम्म आफ्नो पुट्ठा तातो तेलमा डुबाउन लगाउनू,' उसले भन्यो, ‘र, त्यसको प्रमाण स्लिप बोक्न नर्बिर्सिनू।'
मेरो सातो गयो।
भीमबहादुरले चिट दिए।
‘तपाईंलाई नरकमा स्वागत छ,' यमदुत हाँस्यो।
भीमबहादुरलाई त केही सजायँ भएन, म छक्क परेँ।
‘भाइ, उमेर त्यसै गएको होइन,' अल्लिपर पुगेपछि उनले भने, ‘मैले त भन्सारमै टन्न पैसा तिरेर ‘क्लिन चिट' लिएर आएको हुँ... हाहाहा।'
मेरा नौनाडी गल्दै गए।
हामी नरक-सहरको बीचमा आइसकेका थियौं। कता-कता राँगाहरू बेस्मारी कराइरहेको आवाज आइरहेको थियो।
‘दाइ, जाने हो?' अचानक आवाज आयो।
लौ, दुई-तीनवटी केटी सडकछेउ उभेका रैछन्।
‘कति?' भीमबहादुर हाँसे।
‘पाँच सय।'
‘लौ चार सय दिन्छु।'
कुरा मिल्यो।
‘ल त भाइ, हाम्रो यात्रा यहीँसम्म रैछ।' भीमबहादुर छट्किन खोजे। म वाल्ल परेँ।
अल्लिपर पुगेपछि उनले गोजी छामछाम-छुमछुम गरे। केटीले सोधी, ‘के भो फेरि?'
‘सामान छैनजस्तो छ।'
केटी खितित्त हाँसी, ‘नडराउनुस्... नर्कमा एड्स लाग्दैन।'
उनीहरू अल्लि अगाडि पुगेर एउटा मोडमा छेलिए।
एक्लै भएपछि डर लाग्न थाल्यो। अचानक झल्याँस्स भएँ - मरि त सकेँ, केको डर? अनि, हिँडेँ तोकिएको सजायँ भोग्न।
बल्लतल्ल भेटियो ठाउँ।
एकजना वृद्ध यमदुत घाम तापिरहेका थिए। बेलाबेला लहरेखोकी चल्थ्यो।
‘किन आयौ?' उनले सोधे।
‘सजायँ भोग्न।'
उनले विस्मृत नयनले मलाई नियाले।
‘युगौं भइसक्यो... कोही यता आको छैन। याँ न त कराही छ न तातो तेल।'
‘म के गरूँ, बाजे?' म मलिन भएँ, ‘सजायँ नभोगे त झन् कार्बाही हुन्छ रे!'
‘तिमी त असल रेछौ, बाबु,' वृद्ध ट्वाल्ल परे, ‘सबैले नरक-प्रशासनमा गएर घुस ख्वाएर सजायँ भोगिसकेको चिट बनाउँछन्... यता कोही आउँदैन।'
स्कुप पो भेटिएजस्तो छ!
‘यसरी पनि नर्क चल्छ र, बाजे?'
‘के गर्नु बाबु, यो नर्क पहिलेको जस्तो नर्क रहेन,' वृद्ध बर्बराए, ‘पहिलाको नर्कको कुरा के गर्नु? जताततै होहल्ला। ठुल्ठुला तेलका कराई। कोही कराईमा डुबेका छन्, कसैको हातगोडामा किला ठोकर झुन्ड्याइएको छ। कस्तो रमाइलो थ्यो!'
मैले मोबाइल सेटको रेकर्डर अन गरेँ।
‘म एकदिनमा एकसय पैंसट्ठीलाई त तेलमा डुबाउँथँे। ताकत पनि थियो। अब न त ताकत छ न त तेलको कराई। हाम्रो परम्परा नै मासियो। भोकै पर्ने बेला आछ।'
‘अब के गर्नुहुन्छ?'
‘मर्त्यलोकमा भएको भए काल कुर्थें,' बुढाका आँखा रसाए, ‘यता त मर्ने चलन पनि छैन...।'
वृद्धको कुरा सकिएको थिएन, गुरुरुरु पाँच-छ जना यमदुत दगुर्दै हामीतिर आइरहेका थिए। तिनलाई देखेर वृद्धको अनुहार निलो भो। तिनले मलाई चारैतिरबाट घेरे।
‘तँ स्वर्गको जासुस होस्?' मेरो मोबाइल खोस्दै एउटा कड्कियो, ‘यो हातेफोनमा के भरेको?'
म आतंकित भएँ, ‘म पत्रकार हुँ।'
‘ए, पत्रकार!' अर्कोले घिच्चायो, ‘ल हिँड्... महाराजकोमा ... जासुसी गर्छस्?'
बाटोमा मैले दुई-चार मुक्का पनि भेटेँ।
कम्मरमा तरबार झुन्ड्याएका यमदुतहरूले घेरेको ठूलो महलभित्र म लतारिँदै थिएँ। भित्रपट्टि बैठक कोठाजस्तो हलमा अगाडिपट्टि ठूलो सिंहासन थियो। सिंहासनछेउछाउ लहरै यमदुत उभेका थिए।
‘महाराज अंग्रेजी कलास लिँदै होइसिन्छ,' एउटाले भन्यो।
मलाई सिंहासनको ठिक अगाडि उभाएर यमदुतहरू छेउछाउ उभिए।
पन्ध्र मिनेटजति मौनता छायो।
अनि हुरी आएजस्तो भो। हलभरि सल्याङ-बल्याङ भयो। मेरो ढुकढुकी बढ्यो।
‘महाराज की जय!' एकछिन जयजयकार चल्यो।
र, पछिल्तिर आठ-नौ जना यमदुत लगाएर यमराज आइपुगे। मुकुट, ठूलो भुँडी, मोटा जुँगा, ठूला राता आँखा, चुच्चावाल जुत्ता। यमराज सिंहासनमा विराजमान भए।
‘को हो यो मनुष्य?' यमराजले सोधे।
‘जासुस हो, सर्कार,' पछाडिबाट कसैले भन्यो।
‘म जासुस होइन, महाराज,' मैले हात जोडेँ, ‘पत्रकार हुम्।'
‘क्यानाम जर्नलिस्ट?' यमराज मुस्कुराए, ‘कुन पेपरको?'
‘नागरिक दैनिक, सर्कार!'
‘क्यानाम... नागरिकन्युजडट कम?' यमराजको आवाज मोटो भयो, ‘किन चाँडो खुल्दैन त्यो?'
‘जिउँदो हुँदा पनि महाराज म यही प्रश्नले हैरान थिएँ।'
यमराज हाँसे। र, उनले यमदुतहरूतिर इसारा गरे। हतारिँदै सबै बाहिरिए। एक-दुईजना मात्र बाँकी रहे।
‘क्यानाम... चाहिएकै मान्छे आएछौ,' यमराजले भने, ‘अब छ महिनापछि, स्वर्ग र नर्कमा चुनाव हुँदैछ। क्यानाम... ती पाजी देउताहरूको विरुद्ध म उठ्दैछु... ए जर्नलिस्ट, मलाई तिम्रो सहयोग चाहिन्छ। ती देउताहरू रातदिन मदिरापानमा व्यस्त हुन्छन्... केही कुरामा अपडेट छैनन्... ग्लोबल वार्मिङ पृथ्वीलोकमा मात्र होइन... स्वर्ग-नर्क दुवैतिर पनि फैलिरहेको छ। अर्थतन्त्र ध्वस्त छ। पाजीहरूलाई अंग्रेजी त आउँदैन... ल हेर म कति अपटुडेट छु... नर्कमा मुनष्यको जनसंख्या बढेको बढ्यै छ... त्यसैले स्वर्गको स्पेस पनि नर्कलाई चाहिन्छ। यही कुरा बताउने माध्यम चाहिएको थियो... तिमीले यतै नर्कबाट पत्रिका निकाल्न सहयोग गर।'
‘हुन्छ, महाराज!' म हाँसेँ, ‘तर मलाई पनि राम्रो अंग्रेजी आउँदैन।'
‘क्यानाम कसले भन्या छ, अंग्रेजीमा निकाल्न! देवनागरीमा निकाल्ने! अब सारा नर्क देवनागरी भाषीले भरिएको छ।'
एकछिन मौनता छायो।
‘लौ त जर्नलिस्ट... मेरा यमदुतको पनि मन राख्नैपर्यो... आज एकरात जेल बसिदेऊ,' यमराजले उठ्दै भने, ‘भोलि बिहान मलाई भेट्नू।'
...
जेल सुविधासम्पन्नै थियो। ओछ्यान पनि मज्जाकै। जेलको ढोकाबाहिर ताला लगाएर भर्खरै यमदुतहरू फर्केका थिए। मैले झ्वार्र पार्दै काँटी सल्काएँ, त्यो यमदुतहरूले नै दिएका थिए। कुनामा बत्ती रैछ, धप्प बल्यो।
‘थ्याङ्स ब्रो,' अर्को कुनातिरबाट आवाज आयो।
मैले हेरेँ, कुनातिर एउटा दुब्लो कायाका मानिस थिए। टुक्रुक्क बस्दा दुवै घुँडा काननेर पुगेका थिए।
‘किन धन्यवाद... बत्ती बाल्दैमा धन्यवाद दिनु पर्दैन।'
‘ब्रो, बत्ती बालेकोमा धन्यवाद दिएको होइन,' उनी हाँसे, ‘सलाई ल्याएछौ... त्यसैले।'
म पनि हाँसेँ।
ती मानिस मुखमा सुल्पा जोडेर घसि्रँदै मेरोछेउ आए, ‘ब्रो, आगो बाल्देऊ।'
मैले बालिदिएँ। धुवाँ उड्यो। गाँजा बेस्मारी गनायो।
‘तपाईंको शुभनाम के नि?' एकछिनमा मैले कुराको मेलो झिकेँ।
‘महादेव।'
‘थर नि?'
‘ब्रो, भगवानको थर सुन्या छौ, कतै?'
‘तपार्इं भगवान हो र?'
‘धेरै टेन्स नदेऊ... म महादेव नै हुँ,' उनले मुखबाट धुवाँको मुस्लो छोडे, ‘पत्याए पत्याऊ, नपत्याए बालै भएन।'
मैले नियालेँ, महादेव नै हुन् क्यारे! जटा त छ तर गर्दनमा सर्प नै छैन। उनको पछाडिपट्टि भने त्रिसुल ठडिएको रैछ।
‘हो प्रभु, तपाईं त महादेव नै हुनुहुँदोरैछ,' मैले हात जोडेँ, ‘गर्धनको सर्प खै त?'
‘ज्वाइन्ट देर सुतेको बेला एउटा कोरियन ब्रोले खाइदेछ।'
‘अनि प्रभु, कसरी यो नर्कको जेलमा?'
महादेव मुस्कुराए, ‘स्वर्ग बंक गरेर नर्क आको... हुलिदिए।'
‘कति दिनको सजाय हो, प्रभु?'
‘मलाई रोक्ने तागत कसको?' महादेव हाँसे, ‘म त आफ्नै मर्जीले बस्देको क्या! अहिले मनी छैन... मनीको इन्तजाम हुनेबित्तिकै टाप दिन्छु।'
‘जेलभित्रबाट पैसाको इन्तजाम कसरी होला त, प्रभु?'
‘टेन्स नै छैन ब्रो,' महादेवले मेरो कानमा खुसुक्क भने, ‘यो बाघको छाला तस्करलाई बेच्ने योजना बनाउँदैछु।'
उनले बाघको छालाको कट्टु सुम्सुम्याउँदै आँखा चिम्लिए।
Swarga Bunk 2................स्वर्ग बंक...................................................
बुद्धिसागर - 'हल्ट।' चर्को आवाज आयो। झस्किँदै मैले जेलका डन्डीबाहिर चिहाएँ। यमदुतका बीचमा हात पछाडि मोडेर बाँधिएको बलिष्ठ मानिस उभिएको थियो। उसका शरीरमा हरियो टाटेपाटे लुगा र गोडामा काला बुट थिए। यमदुतले उसका दुवै पाखुरा बेस्मारी च्यापेका थिए। मैले महादेवतिर हेरेँ। उनी त मस्त। आँखा बन्दै थिए। आँखाका ढकनी भने सुस्तरी काँपिरहेका। 'म मेजर उमेशजंग हुँ।' त्यो मानिस झन् चर्को करायो, 'साले कालका छौंडाहरू... मेरा दुईसय केटा लगाइदिए भने तिमेरूको नर्क सखाप हुन्छ।'
'एई... ज्यादा निउँ नखोज।' एउटा यमदुतले उसको पेटमा मुठी बजार्यो, 'मरेपछि पनि धाक दिँदो रैछ ए...। यो तेरो भुलोक होइन... बुझ्दैनस्।'
'हिहिहि।' दुब्लो यमदुतले दाँत देखायो, 'ज्यानमा बर्दी भएपछि त यमलोकमा पनि यस्तो शान? काउछो दलेर घाममा लडाइदिनुपर्छ अनि हल्ट हल्ट भन्दै कन्याउँदै जुनी काट्छ।'
'भित्र जा...।' पहिलो यमदुतले पछाडितिर लात बजार्यो। मेजर हुत्तिँदै भित्र पस्यो। एकछिन मुख बंग्याउँदै पुट्ठा सुम्सुम्यायो।
'तेरा बुटाँ मात्रै लौह जडेको हुन्छ भन्ठान्याथिस्?' यमदुत हाँस्यो, 'अहिले त तलाई झिल्कामात्रै उठेको हो... दुख्न त पर्सिबाट सुरु हुन्छ।'
मेजर अरठिएको अनुहार लिएर लुते कुकुरझैं कुनामा डल्लो पर्यो।
'अनि... तँ पनि खुरुक्क भित्र जा।' यमदुतले अर्को मान्छेलाई पनि भित्र हुत्याए। ऊ च्यापुले नै टेकुलाझैं गरी हुत्तियो र ढल्पलाउँदै उभियो। यी महाशयको भेष पनि रमाइलै थियो। रातो सर्ट, धुलाम्मे निलो पाइन्ट। पाइन्टका दुवै मोडी मोजाभित्र घुसारेका थिए। गोल्डस्टार जुत्ता। ठुटे दाह्रीजुंगा, जिङरिंग कपाल।
'महाशय... त्यस्तरी धकेल्न पर्छ?' उसले यमदुततिर हाँस्दै हेर्यो, 'म आफैं पसिहाल्थेँ नि... अब महान क्रान्तिमा होमिएको मान्छे... जेल बस्दा त मेरो स्टाटस नै बढ्छ नि!'
'हिहिहि।' दुब्लो यमदुत हाँस्यो, 'ए क्रान्तिकारी... भुलोकमा जस्तो यमलोकको जेलमा बसेको हिसाबकिताब हुँदैन... ह्याँ त माथिबाट पनि फोन आउँदैन।'
क्रान्तिकारी झस्कियो।
'ह्याँ त... जति दिन जेल बस्यो... त्यसको ब्याज गनेर सजायँ थपिन्छ।' यमदुतले दियो।
क्रान्तिकारीले अक्मकिँदै कोठाको चारैतिर हेर्यो। हामीलाई देख्यो। अचानक उसको दुब्लो ज्यान थररर काँप्यो, 'म यी जनताको कसम खाएर भन्छु... तिमेरूको सत्ता धेरै दिन चल्दैन। ह्याँ पनि महान क्रान्ति हुन्छ... भन्देऊ तिम्रो यमराजलाई एउटा क्रान्तिकारी नरक पसिसक्यो... बर्लिनको पर्खाल...।' घाँटीमा कफ अल्भि्कएछ क्यारे। क्रान्तिकारीले खकार्दै चिच्यायो, 'यमलोकको पर्खाल ढल्छ ढल्छ।'
'इस्...।' यमदुतले ओठ लेप्राउँदै ढोकामा ताला लगायो, 'नरकमा पर्खाल भए पो ढाल्छस्। तँजस्ता कति आए आए...।'
सबै यमदतु फर्किए। अलि पर पुगेपछि, एउटाको आवाज आयो, 'भोलि तातो तेलमा पुट्ठा च्याइँय... भएपछि क्रान्ति कता जान्छ जान्छ।'
'स्वर्गतिर जाला नि मास्कलाई भेट्न।' अर्को आवाज आयो।
'मास्क होइन... मार्क्स।' पहिलो आवाज हाँस्यो, 'त्यसले पनि दाह्री काट्न नपाएर नरकबाट नाई मगाएको थ्यो... स्वर्ग जानपर्छ भनेर खोजेको नाई पनि कता बेपत्ता भयो, थाहा छैन।'
*************************
'अनि तपार्इं नेपाली जनता नै होइन?' क्रान्तिकारीले मतिर हेर्यो। मेरै छेउमा टुसुक्क बसेर।
'नेपाली नै हुँ।' म पनि हाँसेँ, 'अब जनता हुँ कि होइन थाहा छैन...।'
'बडो काइते कुरा गर्नुहुन्छ।' क्रान्तिकारीको अनुहार धस्कियो, 'हाम्रै पार्टीको पर्नुभो कि?'
'म पत्रकार हुम्।'
'हल्ट।' मेरो जवाफ सुनेर मेजर जंगियो, 'कुन सन्ध्याकालीनको पत्रकार होस्? बडो धाक दिन्छस्... तँजस्ता पत्रकारले मेरो निद हराम गर्याथे। नर्कमा पनि पछ्याउँदै आउने?'
'म तपाईंभन्दा पहिला आको हुँ।' मैले अनुहार कठोर बनाएँ।
'साले ... मर्नमा कोही फस्ट र लास्ट हुँदैन।' मेजरले मेरो सर्टको कलर समायो, 'अहिल्यै तेरो रुद्रघन्टी फुटालिदन्छु।'
'एई मेजर... आक्रोशमा नआ।' क्रान्तिकारीले मेजरको हात मेरो गर्दनबाट फुस्काइदियो, 'सबै चिज मिलाएर गर्नुपर्छ।'
म पनि के कम, एकलात त जमाइदिऊँजस्तो लागेको थ्यो। मरिसकेपछि केको डर? चुप लागेँ।
'मरेपछि तँ किन मेरो साथमा लागेको एई क्रान्तिकारी?' मेजरले आँखा तर्यो, 'कस्तो सराप पाइयो... जहाँ गएपनि तैंसँगै जानुपर्ने!'
'मलाई पनि तँसँग हिँड्ने रहर छैन... मरेपछि पनि शत्रुकै अघिपछि हुनुजति ठूलो सराप केही रैनछ।' क्रान्तिकारी सरेर महादेवको छेउमा टुसुक्क बस्यो। मेजर जुरुक्क उठ्यो। कोठाको पश्चिम कुनामा राखिएको ठूलो ग्यालेनमा ट्वाररर्र पिसाब फेर्न थाल्यो।
क्रान्तिकारीले सुनायो - मेजर र ऊ एउटै बम पड्किँदा मरेका रैछन्। त्यसपछि त जहाँ जाँदा पनि सँगसँगै हुँदारैछन्, नियमै यस्तो हुँदोरैछ। क्रान्तिकारी स्वर्ग जान चाहन्थ्यो रे, मार्क्ससित भेटघाट भइहाल्छ कि भनेर। तर, मेजरले नर्क पुर्याएछ। मनुष्य भन्सार मुख्यालयबाट कागज पनि बनाएनछन्, यमदुतले भेटेर जेल हुलेका रैछन्।
'अनि पत्रकार बन्धु... तपाइ कसरी मरेको?' उसले सोध्यो।
'बाइक एक्सिडेन्ट भएर।'
'उस्..।' उसले ओठ लेप्रायो, 'जाबो बाइक ठोक्केर मरेको? मर्न त मर्नु मजस्तो बलिदान दिएर मर्नु। म त पच्चीस हजार सात यस छपन्नौं सहिद पो हुँ त, नमस्ते गर्नुस्!'
मैले वास्ता गरिनँ।
'अनि यहाँ महाशय पनि नेपाली नै हो?' क्रान्तिकारीले महादेवतिर कर्के आँखाले हेर्यो, 'बडो खरानी घसेर हिँड्याछन्।'
मैले उसको कानमा खुसुक्क भनेँ, 'भगवान महादेव हो क्या!'
'नर्कमा पनि महादेव?' क्रान्तिकारीले हाँस्दै महादेवको कुम हल्लायो, 'महादेवको भेषमा भिजिलान्तेजस्तो छ।'
'ब्रो र्याक नगर्।' महादेवले कुम झट्कारे, 'बंगारामा बक्सिङ खालास्!'
क्रान्तिकारीको अनुहार निलो भो।
'हल्ट..।' मेजर बम्कियो, 'को हो यो ट्यापे?'
महादेवले झ्वाट्ट आँखा उघारे। आँखा बेस्मारी राता थिए, 'धेरै टेन्स नदे मेजर... पानीपेटमा त्रिशुलले घोच्छु अनि।'
'भिड्ने हो?' मेजरले पाखुरा सुर्क्यायो।
महादेवका आँखा झन् राता भए। निधारको बीचमा एउटा डल्लो हल्लियो। मेजरले छक्क पर्दै हेर्यो। निधारको डल्लो देखेर झस्कियो र लल्याकलुलुक भएर ढल्यो। क्रान्तिकारी कुनातिर सर्यो।
महादेवले फेरि आँखा बन्द गरे।
'प्रभु... निधारमा के हल्लेको त्यस्तो।' मैले हात जोडेँ।
'थर्ड आई... ब्रो। यो खुल्यो भने... भष्म गरिदिन्छ। मेजरलाई था रैछ क्या... डरले ढल्यो।' महादेवले आँखा चिम्लिएरै हाँसे, 'तर ब्रोलाई भन्दिऊ... यसमा रतन्धो लाछ, खुल्दैन ... रिपेयर गर्न बाँकी नै छ।'
राँगाको ठूलो आवाज छपल्ट आयो। मैले घडी हेरेँ, बिहानको छ बजेको रैछ। आँखा मिचेर लामो हाई काढेँ। महादेवका आँखा बन्द नै थिए। क्रान्तिकारी कुनामा गुडुल्किएको थियो। मेजर भने होसमा आएको थिएन। नर्कमा यो मेरो पहिलो बिहान थियो। घडीको चेपमा 'वेनस-डे' लेखिएको थियो। मरेर जहाँ गए पनि समय, बार र दिन त उही हुँदोरैछ।
'लौ आज त मेरो जन्मदिन हो।' म खुसीले बुरुक्क उफ्रिन थालेको थेँ, थ्याच्च बसेँ। मरिसकेपछि केको जन्म दिन?
तीस वर्ष लागेकोमा कैयौं शुभकामना आएका होलान् फेसबुकमा।
'के भो ब्रो?' महादेवको आवाज आयो, 'डल्लै टेन्स भएजस्तो छ नि!'
'प्रभु... आज मेरो जन्मदिन परेछ।'
महादेवको अनुहारमा कुनै परिवर्तन आएन। उनले सुल्पा भरे। सुल्पा मुखमा जोड्दै मतिर सरे। मैले सल्काइदिएँ।
'ल ब्रो ह्यापी बर्थ डे।' महादेव हाँसे, 'मरेपनि जन्मदिन त उही हो नि... ह्यापी बन... बाल मतलब नगर।'
म हाँसेँ।
'के गनाको?' क्रान्तिकारी ब्युँझिएछ, नाक थुन्यो, 'चरेसजस्तो छ... हे भग् (वाक्य अधुरै रह्यो) बिहानबिहान चरेस खाएर... ए भिजिलान्ते तिमी भगवान नै हौ भने पनि याद गर... नेपाली जनता बिहानबिहान पशुपतिमा तिमीलाई दुध चढाउँछन्... त्यै खाऊ न! यस्तो कालोपदार्थ खाने हो?'
'क्रान्तिकारी ब्रो... तल चढाको कुरा करप्सन भएर कहिल्यै माथि आइपुग्दैन क्या!' महादेवले धुवाँको मुस्लो छाडे, 'सि... भगवानका गाला चाउरी पर्दैछन्... पुजारीका... समथिङ मुस्ताङका एप्पलजस्ता राता।'
फेरि ठूलो स्वरमा राँगो करायो।
पाँच-छ जना यमदुत आइपुगे। ढोका खोले। क्रान्तिकारी तर्सियो। उसलाई घिच्याउँदै बाहिर निकाले। मेजर त लडेकै थियो।
'के भयो यस्लाई?' मेजरलाई घिसार्दै दुब्लो यमदुत करायो।
'थर्ड आई फ्लु।' महादेवले सुल्पा निभाएर बाघको छालाको पछिल्तिर जडे।
यमदुतले महादेवलाई जवाफ फर्काउन थालेको थ्यो, तर रोकियो।
'अनि ए जासुस...।' अर्को यमदुतले मतिर हेर्यो, 'तुरुन्त महाराजकोमा हाजिर हुने आदेश आ'छ।'
एउटा यमदुत मलाई लिन उभियो, अरू भने क्रान्तिकारी र मेजरलाई लघार्दै-घिसार्दै गए।
'ल त प्रभु म लागेँ।' मैले महादेवलाई हात जोडेँ, 'हजुर्लाई भेटेर हर्षित छु।'
मैले यमदुतलाई पछ्याएँ।
ढोकाबाहिर निस्किनै लाग्दा महादेवको आवाज आयो, 'ब्रो हाफ एन आवरपछि भैंसीचोकमा कुर... म आउँछु ... समथिङ काम छ।'
यमदुत अघि लागिसकेको थियो, महादेवलाई कुनै उत्तर नदिई म हिँडँे। भुइँभरि रातो कार्पेट ओछ्याइएको थियो। छेउछाउमा तरबारसहितका यमदुत उनलाई पहरा दिइरहेका थिए। फराकिलो टेबुलको पूर्व कुनामा बिराजमान थिए, यमराज। शिरमा मुकुट थिएन। बिचरा तालुखुइले भइसकेछन्।
'क्यानाम जर्नालिस्ट... रात राम्ररी बित्यो होइन?' यमराजले कपमा चिनी डल्लो खसाल्दै भने, 'क्यानाम पत्रिकाका बारेमा के सोच्यौ?'
'नामै सोचिसकेँ महाराज।'
एउटा यमुदतले मेरा अगाडि चियाको कप राखिदियो। दुई डल्ला चिनी खसालेर चम्मच दियो। म चिनी घोल्न थालेँ।
'नरक दैनिक।' मैले चिया सुर्क्याएपछि भनेँ, 'यो नाम कस्तो होला महाराज?'
'सुपर भवः।'
'सुपर भवः होइन महाराज, सुपब।' म हाँसेँ।
'क्यानाम राँग अंग्रेजी सिकाउने?' यमराज कड्किए, 'त्यो टिचरलाई हाजिर गराऊ। क्यानाम त्यसको सर्टिफिकेट चेक गर।'
दुइटा यमदुत तरवार नचाउँदै बेतोडले ढोका बाहिर दगुरे।
मलाई पनि किन प्याच्च बोल्नुपरेको होला?
'क्यानाम पत्रिका इन्टरनेटमा पनि राख्नुपर्यो नि! नत्र पाजी देउताले कसरी पढ्छन्? हुन त लन्ठुहरूलाई इन्टरनेट चलाउन आए पो!' एकछिन सोचेर यमराज हिस्स हाँसे, 'क्यानाम नरक संसार डटकम कस्तो हुन्छ?'
'महाराज, त्यस्तो नामको साइटमा त पाठकले नांगा फोटा खोज्छन्।' मैले गम्भीर भएर भनेँ, 'नरक न्युज डटकम राम्रो होला।'
'क्यानाम त्यो पनि ठिक छ।' यमराजले उठ्दै भने, 'ल त जर्नालिस्ट आजैदेखि काम सुरु गर। म एकछिन बाथरुम जान्छु। क्यानाम पछि कुरा गरौंला।'
'म एकछिन कुर्छु महाराज एउटा-दुइटा अरू कुरा पनि गर्नु छ।' म आर्थिक कुरा गर्न चाहन्थँ।
'क्यानाम मैले भनेपछि...।' यमराजको अनुहार बिग्रियो, 'पछि कुरा गर्ने भनेपछि पछि कुरा गर्ने।'
'होइन महाराज, एकछिन कुर्छु नि!' मैले दाँत देखाएँ, 'बाथरुम त जान लाको हो नि!'
'क्यानाम आफूलाई कब्जियत भएर हैरान छ। एकघन्टा बसे पनि खलास हुँदैन।' यमराजको मुड बिग्रियो, 'ढिपी नगर।... हिजो बफ आइटम खानै नहुनी।'
फन्किँदै उनी अर्को कोठामा लम्किए। दुइटा यमदुतले पछ्याए।
म निस्केँ। भैंसीचोकमा महादेव कुरिरहेका होलान्।
भैंसीचोकमा बेस्मारी भीड थियो। तरकारी बजारजस्तो रैछ। तिनले सारा फुटपाथ कब्जा गरेका थिए। संसारभरिका थरीथरी मान्छेको भीड। भीडमा कसैलाई कसैको वास्ता थिएन। ती रनाहामा परेको राँगोझैं रन्किँदै हिँडिरहेका थिए। गर्मी बढेकाले होला, धेरैको अनुहारमा पसिना थियो। थरीथरी भाषामा चर्काचर्का आवाजमा नेपाली आवाज कतै सुनिएन।
कता होलान् महादेव?
पर... सडकको बीचमा एउटा बुढो मानिस लठी टेकेर उभिएको थियो। धेरैले उसलाई कुइनाले यताउता धकेल्दै हिँडिरहेका थिए।
'ब्रो...।' महादेवको आवाज आयो।
उनी मेरा पछिल्तिर उभिएका थिए।
'प्रभु, जेलबाट कसरी निस्कनुभो?' म छक्क परेँ।
'मलाई रोक्ने ताकत कस्को?' भुइँमा त्रिशुलको बिँड ठोक्दै महादेव हाँसे, 'यो त मेरो बायाँ हातको खेल हो।'
'अनि मलाई ह्याँ किन बोलाउनुभएको, प्रभु?'
'हेल मार्केटमा जानु छ।' महादेवले भने, 'ब्यागमा मनी त छ नि!'
'धेरै त छैन, प्रभु।' म अक्मकिएँ, 'किन र?'
'सर्प किन्नु छ।' महादेव अघि बढे, 'अचेल जंगलमा सर्पै छैनन्। ब्रो टेन्स नलेऊ... धेरै पैसा लाग्दैन।'
भगवान न हुन् - सहयोग गरेको त पक्कै खेर जाँदैन।
'तस्करसित मनीको कुरा मिल्या छैन।' हिँड्दाहिँड्दै महादेव पछाडि फर्केर सुस्त भने, 'बाघको छाला बेचेँ भने त मनी नै मनी।'
अघि बीचसडकमा उभिएको बुढो महादेव छेउमै आएको रैछ, ठोक्कियो। त्रिशुल उसको कुइनामा बजि्रयो।
'मरेँ नि!' बुढो थुचुक्क बस्यो, 'यस्की मा फलामको रड बोकेर को हिँडेको हो! म अन्धोलाई कस्तरी हेपेको हो!'
महादेवले केही भन्नै थालेका थे, मैले रोकेँ। बुढोलाई उठाइदिएँ। हामी दगुरेझैं अघि बढ्यौं।
'हे पशुपतिनाथ...।' बुढोको ठूलो आवाज आयो, 'म अन्धोलाई यस्तरी पिट्नेको त नर्कमै... होइन, स्वर्गमै बास होस्।'
महादेव मुसुमुसु हाँसे।
फराकिलो सडक दुई फन्का लगाएपछि बल्ल आइपुग्यो - हेल मार्केट। गेटका दायाँबायाँ आकाशचुम्बी दुइटा राँगाका मूर्ति थिए। त्यसको मुन्तिर फोटो खिच्नेको घुइँचो। नर्कमा पनि कैयौं मल्टिपेक्स कम्पनीका सामान आयात हुन थालिसकेका रैछन्। कपडा, घडी, पिज्जा, आइसक्रिम के-के हुन् के के! मसाज सेन्टर पनि रैछन्। ठूलो भित्तामा लेखिएको थियो - कमिङ सुन फोर-डि सिनेमा। पसलमा साउजीहरू सबैजस्तो चाइनिज थिए। कम्प्लेक्सको बाथरुमछेउ एउटा अँध्यारो पसल देखियो।
त्यहीँ रैछन् थरीथरीका सर्प। कुनै दाँत नभएका, कुनै बिष नभएका। अधिकांश सर्प मुर्छित देखिन्थे। होसमा भएका सर्प महादेवलाई देखेर चल्मलाए। बुढो चाइनिज साउजी पनि मख्ख भयो। उसले हतारिँदै एउटा मेनु देखायो - त्यसमा कुन सर्प कसरी पकाउने भनेर विस्तृत जानकारी दिइएको थियो, सचित्र। त्यो देखेर महादेवका आँखा राता भए तर बोलेनन्।
'मित बा...।' मसिनो आवाज आयो।
महादेव आवाज आएतिर लम्किए। आवाज सर्प राखिएको सिसाको बक्सबाट आएजस्तो लाग्यो। मलाई भाउन्न भयो - सर्प पो बोलिरहेको रैछ! मैले चाइनिजतिर हेरेँ, ऊ हाँस्यो। र, कानतिर इसारा गर्यो। ऊ कान सुन्दोरैनछ।
'ब्रो.. को हौ?' महादेवले सर्पतिर झुकेर सोधे।
सर्प गुडुल्किएको थियो। थकित उसले यस्सो मुख माथि उठायो, 'म उही क्या... नागकान्तको छोरो सर्पकान्त।'
'तिमी मेरो गर्दनमा बीसवर्ष बास बसेको नागकान्तको छोरा?' महादेव छक्क परे, 'कसरी आयौ यहाँ, ब्रो?'
'म पिताजी खोज्दै आथेँ।' सर्पका काला आँखा छिपछिप भए, 'छोपेर यहाँ ल्याए। मितबा, मेरो ज्यान जोगाउनुस्।'
'टेन्स नलेऊ।' महादेवले भने, 'म छु।'
मैले इसाराले कति भनेर सोधेँ। चाइनिज बुढो क्याल्कुलेटर लिएर मेरा अगाडि उभियो। र, क्याल्कुलेटरमा लेख्यो - ५००।
महादेवले झोक्किँदै क्याल्कुलेटर लिए र लेखे - २००।
बुढो - ४००।
महादेव - २२५।
बुढाले झोक्किँदै ३८० लेख्यो र काउन्टरमा क्याल्कुलेटर पछार्यो।
मैले पैसा दिएँ। सर्पकान्त हर्षित हुँदै महादेवको गर्दनतिर उक्लियो। जसरी बालक बाउको काँध चढ्छ। हामी हेल मार्केटबाट बाहिर निस्क्यौं। सर्पकान्त खुसी हुँदै महादेवको गर्दनमा नाचेझैं बटारिइरहेको थियो।
'थ्याङ्स ब्रो।' बाहिर सडकमा आइसकेपछि महादेवले भने, 'मनीको लागि।'
म हाँसेँ।
'मित बा, कुल्फी।' सर्पकान्त करायो। पर एउटाले कुल्फी बेचिरहेको रैछ। बक्सामा लेखिएको थियो - नर्क कुल्फी, जिब्रोमै झुन्डिने। हसिना मान जाएगी।
'ल ब्रो।' महादेवले मेरो काँधमा हात राखे, 'कुल्फी किन्देऊ न त!'
मैले कुल्फी किनिदिएँ। सर्पकान्तले कुल्फी पुच्छरमा बटार्दै किक्लिक्क आफ्ना दाँत निकाल्यो। महादेव झस्किए।
'दाँत नभएका सर्प बिक्दैनन् भनेर कोरियनले नक्कली दाँत हालिदिएको हो मित बा।' कुल्फी मुखतिर बढाउँदै सर्पकान्तले भन्यो, 'डेन्टिसकोमा लगेर।'
मलाई बेस्मारी हाँसो लाग्यो तर हाँसिनँ।
महादेव कुल्फी खाइरहेको सर्पकान्ततिर हेर्दै अघि बढ्दै थिए, अघिको बुढो फेरि ठोक्कियो। थुचुक्कै बस्यो।
'यस्की मा फेरि हान्यो।' बुढो करायो, 'नर्क यतिसम्म रद्दी होला त सोचेको थिइनँ।'
'बाजे, तपार्इं पनि बीचबाटोमा किन उभेको त?' मैले उठाउँदै भनेँ, 'यसो साइड लागेर उभिनुपर्छ नि!'
'बाबु, तिमी त असलै रेछौ।' बुढोले रुन्चे अनुहार लाए, 'मर्दा आँखा फुटेर मरेँ। अैले दुख्ख पाएँ। कहाँ जाने, आखै देख्दिनँ। पशुपतिनाथले पनि अन्याय गरे ममाथि।'
'बिग ब्रो...।' महादेवले सोधे, 'कसरी मर्यौ? आई त जम्मै डार्क छन्।'
'आधा बोतल खुकुरी खाको... ठहरै भएँछु।'
'प्रभु, यो बुढोका आँखा खोल्दिनू न!' मैले आग्रह गरेँ, 'हजुर्को ठूलै भक्त पनि रैछ।'
'ब्रो, त्यस्तो त कालाजादुमा होला।' महादेवले भने, 'रियल लाइफमा गारो छ।'
बुढोले पनि के ठान्यो कुन्नि, हात जोड्यो।
'ब्रोहरू म सक्दिनँ क्या!' महादेव सन्किए, 'मैले त बरदान दिने न हो। लौ बरदान दिएँ - अर्को जन्ममा आँखासहित जन्मिनू।'
बुढो च्याँठियो, 'अर्को जन्म लिन फेरि मर्नुपर्छ? म कहिले मर्छु त?'
'आइन्सटाइन ब्रो स्वर्ग पुगेदेखि त्यै हिसाब गर्दैछ।' यत्ति भनेर महादेव फटाफट हिँडे।
Swarga Bunk 3 ........................................ स्वर्ग बंक ...............................................................
बुद्धिसागर - एक हुल यमदुत आइरहेको देखेर महादेव अर्को गल्लितिर लागे। म एक्लै भएँ। यमदुतहरू मेरो छेउ आए। 'महाराजले बोलाइस्सेको छ,' एउटाले भन्यो, 'तुरुन्त हाजिर हुने।' म हिँडेँ। यमदुतले पछ्याए। यमराज अघिपछि यमदुत लगाएर बगैंचामा टहलिरहेका थिए। यमराजसँग एउटी युवती पनि थिइन्। मैले यमराजलाई निहुरेर दर्शन गरेँ। 'क्यानाम्, यिनको नाम एलिसा हो। असिस्टेन्ट राख,' यमराजले युवतीतिर इसारा गरे, 'यिनलाई जर्नालिजममा रुचि छ।'
एलिसा हाँसिन्। गालामा खोपिल्टा पर्यो। नसालु आँखा। रसिला ओठ। लामो केश। फिक्का बुट्टा भएको फिक्का हरियो सारी। त्यस्तै ब्लाउज। अग्ला सेन्डिल। हिँड्दा टक्टक् आवाज आउँथ्यो। उनलाई देख्नेजति पग्लेर पानी नभए त मरीजाऊँ।
उनले नमस्ते गरिन्।
मैले नमस्ते फर्काउँदै भनेँ, 'तपार्इं साह्रै सुन्दर हुनुहुन्छ।'
'थ्याङ्स,' उनले आँखा घुमाइन्।
'क्यानाम राम्री हुन्नन् त? य मिस यमलोक भइसकेकी हुन्। क्यानाम जर्नालिस्ट, कस्तो रातो गाला बनाएको?' यमराजले शंका गरे, 'क्यानाम लाइन मार्ने होइन नि! तातो तेलमा डुबाउन नपरोस्!'
यमराजका अघिपछि हिँडिरहेका यमदुतले आफ्नो कम्मरको तरवार बेस्मारी अँठ्याए।
'महाराज, म मरेको मान्छेको त्यत्रो ल्याकत के हुनु,' मैले हात जोडेँ, 'जिउँदै हुँदा त केही लछारपाटो लागेन।'
एलिसा खित्त हाँसिन्।
'क्यानाम ह्याँ जोक चल्दैछ?' यमराजले मुर्मुरिँदै आफ्नो लठीको हिराजडित बिँड समाए, 'जाऊ खुरुक्क। कफी बनाऊ। म आउँछु।'
एलिसाको अनुहार खस्कियो। उनी लुरुक्क दरबारतिर लागिन्।
'क्यानाम पर्ख एलि,' यमराजले नम्र आवाजमा बोलाए। एलिसा फर्किन्। यमराजले छेउमा टन्न फुलेका फूलमध्येबाट बाबरी फूल चुँडे। र, एलिसाछेउ पुगे।
'क्यानाम, यसलाई कफी-टेबुलमा सजाऊ।'
एलिसा हाँसिन्। कर्के नजरले मलाई हेरिन्। मैले आफ्नो हृदयभित्र फर्किन थालेको बाबरीफूललाई लुकाउँदै नहाँसेजस्तो गरेँ।
एलिसा ढोकामा के पुगेकी थिइन्, ढोकेले हाँस्दै ढोकामा फर्फराइरहेको मखमली पर्दा पन्छाइदियो र केही भन्यो। एलिसा हाँस्दै भित्र पसिन्।
'ओइ लन्ठु, यता आइज,' यमराज रिसले थरथरी काँपे। बिचरा ढोके दगुर्दै आयो र घुँडा टेकेर यमराजका अघि शिर निहुरायो।
'क्यानाम हिरो बन्छस्?' राता आँखा बनाउँदै यमराजले उसलाई हेरे। र, अरू यमदुतलाई भने, 'यस्लाई तुरुन्त जेल हुलिदेऊ। क्यानाम छ महिना।'
'महाराज, अब यस्तो गर्दिनँ। माफी पाऊँ' भन्दै ढोके रोयो। तर, उनले सुनेनन्। चार जना यमदुतले उसलाई घिसारे।
मेरो ढुकढुकी बढ्यो। यमलोकमा 'लभ' गर्न खोज्नु यत्ति महंगो?
'कति महंगो?' यमराजले सोधे।
लौ बा मेरो सातो गयो। यमराज हृदयको कुरा पनि बुझ्छन् क्यारे।
'के महंगो महाराज?' मैले हात जोडेँ।
'क्यानाम, ब्रोडसिड पत्रिका निकाल्न कत्ति महंगो पर्छ भनेको?'
मेरो सास आयो, 'महाराज म भोलि नै हिसाब-किताब दिन्छु।'
'लौ त जर्नालिस्ट, म एकछिन विश्राम...,' बोल्दाबोल्दै यमराज टक्क अडिए। किनभने, पाँच-छ जना धुलाम्मे यमदुतले एउटा दुब्लो कायाको मान्छेलाई लतार्दै ल्याइरहेका थिए। उसका दुवै गोडा भुइँमा लतारिएका थिए। ऊ डरले कालोनिलो भएको थियो।
'क्यानाम, मलाई राँग अंग्रेजी सिकाउने?' यमराजले उसको पेटमा लट्ठीले घोचे।
'महाराज, मैले त सही नै सिकाएको थिएँ। हजुर्को प्रनाउन्सेसन ...।'
'चुप!' यमराज थरर काँपे, 'क्यानाम, कति पढ्या छस्?'
'संस्कृतमा पिएचडी हुँ, सरकार।'
'लौ मार्यो,' यमराज हाँसे, 'क्यानाम, पढेको संस्कृत ... सिकाउने इङलिस?'
'सरकार पढेको त अंग्रेजी नै हो। पिएचडी गर्न बिहारतिर जाँदा संस्कृतको सस्तो पाइयो।'
'क्यानाम यस्लाई तुरुन्त जेल पठाऊ' भन्दै यमराज दरबारतिर बढे।
'महाराज, जिउँदो हुँदा पनि मेरो आधा उमेर जेलमै बितेको हो,' ऊसले अत्तालिँदै घुँडा टेकेर करायो, 'महाराज, माफी पाऊँ।'
यमराले उसलाई फर्केर पनि हेरेनन्।
म बाहिर निस्कन गेटतिर लागेँ।
अल्लि पर पुगेको थिएँ, एलिसाको आवाज आयो, 'एकछिन पर्खनुस् त!'
म बडो मुडमा फर्किएँ।
एलिसा दगुर्दै आइरहेकी थिइन्। उनी नजिक आउँदा उनको शरीरको मिठो बासना मैले महसुस गरेँ।
'हजुरलाई दरबारको पश्चिमतिरको क्वाटर नम्मर २४ मा सुत्ने व्यवस्था छ,' उनले एकै सासमा सुनाइन्।
'इट्स माई प्लेजर,' मैले अंग्रेजी ठेलेँ।
उनका ओठ काँपे, 'वेलकम होम।'
हे प्रभु, म किन पहिल्यै मरिनँ?
...
रातको सवा नौ बजेको थियो। महादेवले मलाई एउटा भट्टीमा लगे। भित्रको होहल्ला सडकसम्म आइरहेको थियो। भट्टीको होचो ढोकामा थोत्रो र मैले हरियो पर्दा झुन्डेको थियो। ढोकाको निधारमा लामो साइनबोर्ड टाँगिएको थियो -
उहि कान्छादाईको सेकुवा पसल
नर्क शाखा। पृथ्विकै स्वाद।
ठूलो काउन्टरपछाडि भुँडे साउजी चुरोट डुङडङ्ति उडाउँदै हाँसिरहेको थियो। हामी भट्टीमा पस्नेबेला ऊ एउटालाई सुनाइरहेको थियो, 'हेर्नुस् हजुर, नर्क आएर फाइदै भो। मेरा पैसा नतिरेर मरेका जति सप्पै मापा यतै आरछन्। असुल गरिरहेको छु।'
हामीले कुनातिरको खाली टेबुल रोज्यौं।
कोठामा छ वटा टेबुल थिए। टेबुलमा टनाटन मान्छे। मुख बंग्याउँदै, हात झट्कार्दै कुरा गरिरहेका थिए। महादेवलाई देखेर कसैले वास्ता गरेन।
एउटा केटो आएर अर्डर लिन हामीछेउ उभियो।
'चिसो,' मैले भनेँ।
महादेवले मलाई अचम्म मान्दै हेरे। र, उनले आफ्ना लागि हाफ बोतल जिन अर्डर गरेँ। सर्पकान्तका लागि दुध।
अर्डर आइपुग्यो।
महादेव जिनको चुस्की लिन थाले। म चिसोको। सर्पकान्तको जिब्रो दुधको कटौरामा लप्लपाइरह्यो।
'ब्रो, एक पेग लेऊ,' महादेवले रक्सीको सिसी मेरो गिलासतिर ढल्काए। मैले स्वाट्ट गिलास आफूतिर तानेँ।
'भो प्रभु, एकछिन पछि यमराजलाई भेट्नु छ,' मैले दाँत देखाएँ।
महादेवको गर्दनबाट तलतिर झुकेर सर्पकान्त आफ्नो लप्लपाइरहेको जिब्रो महादेवको गिलासतिर सोझ्याइरहेको थियो। महादेवले उसको तालुमा प्याट्ट हाने र मलाई भने, 'छ्या ब्रो, कस्तो कुरा गरेको? देख्दैनौ, के लेख्या छ?'
मैले बोलतमा साडीझैं बेरिएको कागजमा लेखिएका ठुल्ठुला देवनागरी अक्षर पढेँ -
'जिन, किसै गरेपनि उनले कहाँ थाहा पाउँछिन्?'
'जिन हो जिन, अफिस टाइमको रक्सी... जति लगाऊ, थाहै हुन्न,' महादेवले मलाई उत्साह दिएँ।
हो त?
आज मन रोमान्टिक छ। जे पर्ला पर्ला। मैले गिलास अगाडि सारेँ। महादेवले अलिकति जिन खन्याइदिए।
'ल ब्रो, चियर्स,' महादेवले गिलास उठाए। मैले ठोक्काएँ।
'मितबा, म पनि खाने,' सर्पकान्तले टाउको नचायो।
'चुप लाग्, स्वाँठ,' महादेव झर्किए, '१८ वर्ष पुगेपछि पिउने।'
सर्पकान्त ट्वाँ भयो।
म त्यति पिउँदिनथेँ। दुई-चार घुट्कोमै बसेको टेबुल रिङ्न थाल्यो। झलझली एलिसाको अनुहार आँखा वरिपरि नाच्यो।
'ब्रो अचानक मुसुमुसु हाँस्न थाल्यौ, के सम्झ्यौ?' महादेव चुस्की लगाउँदै हाँसे।
'भन्नु र प्रभु?'
'नभने पनि म पत्ता लगाउन सक्छु।'
भन्दिऊँ न त। मैले लजाउँदै भनेँ, 'प्रभु, मेरो लभ पर्यो।'
'ए बाई... लभ पर्यो... लभ पर्यो,' सर्पकान्त नाच्यो।
मैले महादेवलाई एलिसा र मेरो पहिलो भेटघाट सुनाएँ।
महादेव मेरो कुरा सुनेर गम्भीर भए। र, भने, 'ब्रो, एलिटसित लभ गर्नु हँुदैन।'
म झस्किएँ।
'ब्रो, बनारसबाट निस्कने स्वस्थानी पढ्या छैनौ? मेरो स्याड लभ स्टोरी छ नि त्यसमा,' महादेवले फेरि चुस्की लाए, 'मेरो लभ स्टोरी पुरा भएन ब्रो। सतीदेवीको बाउ ठिस निस्क्यो। उही क्या दक्ष प्रजापति। यै काँधले प्रेमको लास बोकेर हिँडे ब्रो।'
महादेवका आँखा छिपछिप भए।
'प्रभु, भगवान भएर रुने?' मैले गिलाससहित हात जोडेँ।
'के भगवानको हर्ट हुन्न?' महादेवले आधा गिलास स्वाट्ट पारे, 'भगवानका दुख्ख तिम्लाई के था?'
म के बोलूँ?
'ब्रो, आई एम भेरी स्याड... पुरानो घाउ बल्भि्कयो,' महादेव जुरुक्क उठे, 'आज मुन हेर्दै टोलाउँछु।'
महादेव स्वाट्ट हिँडे।
मैले बिल तिरेँ।
बाहिर सडक सुनसान थियो। राँगा कराएको आवाज बेस्मारी आइरहेको थियो। महादेव अघिअघि थिए, म पछिपछि।
चन्द्रमा नर्कको आकाशबीच थियो। म चन्द्रमा हेर्दै हिँडिरहेँ।
...
'हे˜˜,' ठूलो आवाज आयो, अँध्यारो गल्लीबाट।
म टक्क अडिएँ। गल्लीबाट एउटा कुकुर फुत्त बाहिर आयो। लौ, गोलीको पेटी बाँधेको। दुवैकानमा टप। घाँटीमा सुनको मोटो सिक्री। घुँडासम्मका बुट। तालुमा कालो चस्मा। अनि, दुवै हातमा बन्दुक।
'यस्तो पूर्णिमाको झलमल रातमा महोदयहरू कता?' कुकुरले बन्दुक ताकेर सोध्यो।
बन्दुक देखेर सर्पकान्त डरायो।
पहिलोपल्ट बोल्ने कुकुर देखेर म अचम्म। महादेव त चन्द्रमातिर हेरेर टोलाइरहेका थिए।
'म यो उराठलाग्दो सहरमा आजै आएको हुँ। मनमा अलिअलि संकोच छ। महोदय भनिदिनुहुन्छ कि यो कुन स्थान पर्यो?'
सर्पकान्त डराएको थाहा पायो कि? कुकुरले बन्दुक पाइन्टका दुवैतिरका जेबमा हुल्यो।
'नर्क पर्यो,' म अझै अचम्म मानिरहेको थिएँ।
'म नरकमा पो?' कुकुरले शान्त आवाजमा भन्यो, 'आखिरमा जिन्दगी भाग्यको खेल न हो। अब मनको आकाशलाई जति चिथोरे पनि केही हुँदैन।'
मैले महादेवतिर हेरेँ। लौ उनी त आँसु पुछ्दै रैछन्। जो हेर्यो उही भावुक। आज ग्लुमी सन्डे पर्यो कि क्या हो?
'महोदय त नेपाली नै हुनुहुँदो रैछ,' कुकुरले मतिर हेर्यो।
मैले टाउको हल्लाएँ।
अनि, कुकुरले महादेवतिर हेर्यो, 'उहाँ ऋषिको को पर्नुभयो? उहाँको मन किन औंसीझैं कालो? उहाँको आँखामा किन मोतीजस्तो आँसु?'
छ्या, के भनेको होला? मैले केही बुझे त मरीजाऊँ। खुस्केट कुकुर परेजस्तो छ। महादेव अघि बढे, कुकुरतिर हेर्दा पनि हेरेनन्। म पछि लागेँ।
'हे˜˜,' कुकुर बुरुक्क उफ्रिँदै महादेवमा अगाडि टक्क अडियो।
'सडक मेरो इमान हो, सडक मेरो प्राण हो। सडक मेरी आमा, सडक मेरी जहान हो,' कुकुरले हिंस्रक दाँत देखायो, 'मेरो सडकमा मेरै अपमान? मेरो प्रश्नको उत्तर नदिने?'
उसले बन्दुक स्वाट्ट जेबबाट तान्यो। औंलामा फनन्न नचायो। र, हामीतिर ताक्यो। मेरो सातो गयो। बन्दुक देखेर होइन, उसका दाँत देखेर। टोक्यो भने त नर्कमा रेबिजका सुई खोज्न कहाँ जाने?
'ओई डग, टेन्सन नदे,' महादेव गर्जिए, 'एक त्रिशुल खालास्।'
'एक पेस्तोलमा तीन गोली,' कुकुरले पेस्तोल ख्यार्र-ख्यार्र पार्यो, 'तीन जीवन... तीन मृत्यु। अहिले ड्याम्म गोली चल्यो भने भोलि ऐया निस्कन्छ। महोदय, मृत्यु प्यारो कि जीवन?'
कुकुरले महादेवको निधारमा ताक्यो।
'यस्की मा,' महादेवको निधारको डल्लो हल्लियो। उनले अचानक कुकुरको ढाडमा त्रिशुल बजारे। 'मरेँ नि,' चुइँचुइँचुइँ ... कुकुर बेस्मारी चुइँकियो र उसले छुलुक्क मुत्यो।
'महोदय, अप्ठ्यारो-अप्ठ्यारो बोल्ने... अनि बन्दुक ताक्ने?' म हाँसेँ, 'डामियो हैन ढाड?'
कुकुरले आँसु पुछ्यो।
'भन् तँ को होस्?' महादेवले फेरि त्रिशुल ताके, 'कुकुर त यस्तो हुन्न।'
'म टमी डियर हुँ। फिल्मको हिरो,' कुकुरले काँतर आवाजमा भन्यो, 'मेरा नौ फिल्मले एकाउन्नांै दिन मनाएका छन्, पृथ्वीमा। यसरी ढाडमा बजार्नु त भएन नि!'
'अनि नबुझिने-नबुझिने बोलेर टेन्सन दिने?' मैले ठूलो स्वरमा भनेँ।
'के गर्नु दाजु?' टमी डियर चुइँकियो, 'फिल्मको डाइलग रट्दा-रट्दा त्यस्तै बोल्ने भएँ।'
कतै ठूलो स्वरमा राँगो करायो।
'उहाँ ठूलै ऋषि पर्नुभो?' टमी डियरले सोध्यो।
'होइन, उहाँ महादेव हो।'
'महादेव?' उसका आँखा ठुल्ठुला भए। ऊ एक्कासि महादेवको गोडामा लडिबुडी गर्न थाल्यो। 'प्रभु गल्ति भो, माफी पाऊँ,' उसले हात जोड्यो।
महादेव अघि बढे।
ऊ अल्मलियो। मलाई हेर्दै खिस्स हाँस्यो, 'अनि तपार्इंचैं को?'
'पत्रकार।'
'दाजु-दाजु,' टमी डियरले हात जोड्यो, 'महादेवले माफ गरून्-नगरून्, हजुरचैं माफी दिनुस्।'
म हाँसेँ र अघि बढेँ। टमी डियर अँध्यारो गल्लीमा फुत्त पस्यो।
महादेव टोलाउँदै हिँडिरहेका थिए। सर्पकान्त काँधमा निदाएको थियो। म एकछिन चुपचाप हिँडिरहँे।
एक्कासि टमी फुत्त अगाडि आयो।
'दाजु-दाजु,' ऊ हिस्स हाँस्यो, 'एउटा कुरा सोधूँ भनेर।'
'के?' म अडिएँ।
'नर्कमा फिल्म बन्छन् कि बन्दैनन्?'
...
'दाजु, नर्कमा अरू कुकुर छैनन्?' टमीले पुच्छर हल्लाउँदै सोध्यो, 'मेरो नाकले पत्ता लगाउन नसकेको हो कि?'
'खोइ, मैले त देख्या छैन,' म हाँसेँ, 'चन्द्रमामा पहिलोपल्ट पुग्ने कुकुरले इतिहास बनायो। अब तिम्रो पनि इतिहास हुने भो... नर्क आउने पहिलो कुकुर भनेर।'
हिहिहि... सर्पकान्त नक्कली दाँत देखाउँदै हाँस्यो। ऊ छाताझैं ठिङ्ङ उभिएको थियो। महादेव मुत्र डोनसन गर्न झ्याङतिर लागेका थिए।
हामी नरक महानगरछेउको थुम्कोमा थियौं। जहाँबाट सारा महानगर देखिन्थ्यो। राँगाका पाँचवटा भीमकाय मूर्ति देखिइरहेका थिए। तिनका आँखामा गुलुप जडेजस्तो लाग्थ्यो, किनभने ती बेस्मारी बलिरहेका थिए।
'दाजु, नर्कमा त लोडसेडिङ हुन्न कि क्या हो?' एकछिन टोलाएपछि टमीले सोध्यो, 'म मर्नुभन्दा त अघिल्लो दिनसम्म उता अठार घन्टा लोडसेडिङ थियो। मज्जै रैछ है, नर्क त।'
मैले गाला कन्याएँ।
'अनि कसरी मर्यौ त?' मैले सोधेँ।
'जति माथिबाट हामफाल्यो फिल्म उति चल्छ भनेर डाइरेक्टर सापले धरहरा चढाए,' टमी टोलायो, 'झ्याम्म हाम फालेको... भुइँमै नपुगी यता आएँ।'
ऊ अरू पनि भन्न खोज्दैथ्यो, महादेव झाडीबाट निस्किए।
'धत् ब्रो, जुगा लागेर हैरान,' हाम्रो छेउमा आएर महादेव बसे।
'मित बा... मित बा,' सर्पकान्त उनको काँध चढ्यो, 'म नाच हेर्ने।'
'तान्डव?' महादेव हाँसे।
'होइन, डिस्को,' सर्पकान्तले आफ्नो पुच्छर महादेवको कम्मरको डमरूमा हिर्कायो, डम-डम।
'ल डग, डान्स गर्, म माफी दिन्छु,' महादेवले टमीतिर हेरे।
ऊ लजायो।
डम-डम डमरू बज्यो। टमी कम्मर मर्काई-मर्काई नाच्न थाल्यो। एकैछिनमा सर्पकान्त पनि मिसियो। म त हाँसेरै हैरान। एकैछिनमा टमी र सर्पकान्त थकित भए। टमी थ्याच्च बस्यो। सर्पकान्त महादेवको काँधतिर लाग्यो।
'प्रभु, बिहानै हुन थालेजस्तो छ। अब लाग्नुपर्छ,' मैले भनेँ, 'मैले बिहानै यमराजलाई भेट्नुपर्छ।'
'त्यो यम ब्रोले तिम्लाई सम्पादक बनाउँछु भनेर रिङाउने भो,' ओरालो झर्दै गर्दा महादेवले भने, 'राँगो चढेर हिँड्नेले पनि के गरिखाला?'
'राँगो चढ्नेकै भाग्य बलियो महाराज,' म खित्त हाँसे।
'आफूलाई भोजपुरी फिल्मको अफर आथ्यो,' बाटोछेउको झ्याङमा तुरक्क तुर्क्याउँदै टमीले भन्यो, 'नमरेको भए कार चढ्थँे। मरिहालेँ... राँगो चढ्ने भाग्य रहेन। फिलिमको नाम नै खत्रा थ्यो - मोर भैया टमी हिरो बनल वा, सुरमा लगाइल वा...
टमीले फिल्मको नाम पुरा भन्न पाएकै थिएन, गुरुरुरु पाँचवटा राँगा धुलो उडाउँदै आए। हामीलाई फनक्क घेरे। पछिपछि यमदुत थिए।
'शुभप्रभातमा पसिनै पसिना भएर कता?' एउटाले सोध्यो।
अरूले तरबार उचाले। राँगाहरूको कोखामा लामा-लामा ब्यानर थिए- नरक प्रहरी प्रभाग।
'यसो घुमेको,' म नम्र भएँ।
'नर्कलाइ पशुपति ठान्या छस्?' अर्को बम्कियो, 'नर्कमा यस्तो सान?'
पशुपति? मैले यताउता हेरेँ, महादेव त गायब। टमी ट्वाल्ल परेको थियो।
मैले यमराज र मेरो सम्बन्धबारे बताएँ। प्रकाशोन्मुख पत्रिका नरक दैनिकको सम्पादक भनेर चिनाएँ।
'अनि यो कुकुर?'
'म हिरो हुँ।'
'ए, अभिनयकर्ता?' सबै यमदुत हाँसे। पहिलो गर्जियो, 'खानतलासी लेऊ।'
मसँग त्यस्तो आपत्तिजनक बस्तु थिएन। म चोख्खिएँ। टमीको गोजीबाट दुइटा बन्दुक निस्किए।
बन्दुक? सारा यमदुतले कराउँदै टमीलाई घेरे। एउटा पेस्तोल समाउँदै कड्कियो, 'नर्कमा लौह हरियार? षड्यन्त्र?'
'होइन हजुर, यो त नक्कली हो,' टमी चुइँकियो।
यमदुतले प्याच्च थुक्यो। मुलाले खैनी खाको रैछ।
'हतियार सक्कली होस् कि नक्कली,' उसले तरबारको टुप्पाले टमीको पेट घोच्यो, 'नियत त उही हो। यस्को पाता कस।'
एकैछिनमा टमी रस्सीमा बेरिएको थियो। लामो जिब्रो बाहिर निकालेर फ्याँ-फ्याँ गरिरहेको थियो।
'तँसँग केही थिएन, बाँचिस्,' यमदुतले मलाई भने र टमीलाई घिसार्न थाले।
'दाजु बचाउनुस्,' टमीले कुइँकुइँ कुइँकिदै भन्यो।
'चिन्ता नगर, म यमराजसित कुरा गरेर छुटाउँला,' मैले ठूलो स्वरमा भनेँ।
'एई, यत्रो धाक?' एउटा दगुरेर आयो र मेरो पानीपेटमा बुट बजार्यो। म घुप्लुक्क ढलेँ। अँध्यारो भो।
...
ठूलो स्वरमा राँगो करायो।
मैले आँखा उघारेँ। सर्पकान्तको टाउको मेरा आँखामाथि थियो। सर्पकान्तले टाउको नचायो, 'मित बा, होस आयो।'
'ब्रो, उठ्यौ?' महादेवले मेरो निधार सुमसुम्याए, 'ट्यापेहरूले गोदे हैन?'
मलाई झनक्क रिस उठ्यो। परेको बेला टाप दिने पनि के भगवान?
'प्रभु, अब मलाई हजुर्को संगत गर्नु छैन,' मैले कपडामा लागेको धुलो पुछेँ, 'यस्ता भगुवा पनि भगवान हुन्छन्?'
म ठमठमी हिँडेँ। कोखा चस्किरहेकै थियो।
महादेव पछिपछि आइरहे।
'ब्रो, मैले चाहेको भए, सबैलाई एकैचोटि खत्तम पारिदिन्थेँ,' महादेवले मेरो हात समाए, 'मेरो कुरा राम्ररी सुन, मैले एकपल्ट हेल्प गरेँ भने तिमी अर्को पल्ट पनि हेल्प माग्छौ। मैले जानी-जानी हेल्प नगरेको। तिमी आफूले आफूलाई हेल्प गर्न सिक।'
म बोलिनँ। हिँडिरहेँ।
अबेरपछि हामी नरक महानगरको बीचमा थियांै। बिहानपख भएर होला, मानिसहरू यताउता टहलिरहेका थिए। थरीथरी मानिस, थरीथरी स्वभाव। विभिन्न भाषा। कोही-कोही भने राँगाका अग्ला मूर्तिमा अबिर छर्किरहेका थिए।
'ल त ब्रो, तिमी त बेहोस भएर पनि निदाइहाल्यो। सर्पकान्तलाई दुध ख्वाएर म पनि सुत्न जान्छु,' महादेवले मुलचोकको छेउमा उभिएर भने।
'कहाँ जानुहुन्छ सुत्न, प्रभु?'
'उही जेल,' महादेव हाँसे, 'मलाई आउन-जान कस्ले रोक्ने?'
म हिँड्नै लागेको थेँ। 'मरेँ मरेँ। पोल्यो पोल्यो,' ठूलो आवाज मेरो पछिल्तिरबाट आयो। मैले फर्केर हेर्नै पाइनँ, हुरीझैं आएको एउटा मानिस मसित बेस्मारी ठोक्कियो। फुर्लुङ्ङ ढल्यो। ए बा, उसको ज्यान त एकदमै निलो।
ऊ गुजुज्ज फिज काढिरहेको थियो। नेपाली नै रैछ। ऊ उठ्यो। आँसु पुछ्यो। फेरि करायो, 'मरेँ-मरेँ। पोल्यो-पोल्यो।'
के भाको होला यस्लाई?
उसले छेउमा उभिएका महादेवको काँधको सर्पकान्तलाई देख्यो र चिच्यायो, 'यसैले हो मलाई डसेको। यसैले हो। मारिदिन्छु।'
ऊ महादेवतिर लम्कियो। महादेवले ऊतिर त्रिशुल सोझ्याए।
'ए जोगी, बीचमा नआ,' ऊ चिच्यायो, 'उसले मेरा सारा सन्तानलाई डस्यो।'
'मितबा, मैले होइन,' सर्पकान्त डरायो।
त्यो मान्छे फेरि चिच्यायो र महादेवतिर उफ्रियो। महादेवले त्रिशुल उसको तालुमा बजारे, ऊ बेहोस भएर ढल्यो।
'प्रभु, सर्पले डसेको मान्छे यस्तो हुन्छ र?'
'होइन ब्रो,' महादेवले सर्पकान्तको तालु सुम्सुम्याए, 'सर्पले डसेको त मर्छ, सक्कियो। यस्तो दुख्ख पाउन्न।'
'अनि यस्लाई के भाको होला त प्रभु?'
'ब्रो, तिम्रो पृथ्वीलोकमा त सर्पभन्दा डेन्जर कुरा छ,' महादेवले भने, 'त्यसले डस्यो भने यस्तै हुन्छ। त्यसले डसेको सुरुमा थाहा हुन्न... पोइजन भरिएपछि लास्टमा यस्तो हुन्छ।'
'के हो प्रभु त्यो?'
'सत्ता।'
...
थकित म दरबार पसेँ। ढोकेले चिनेको रैछ, पस्न दियो। यमराजसँग कुरा गरेर टमीलाई छुटाउनु थियो।
'महाराज बगंैचामा होइसिन्छ,' यमदुतले भन्यो।
बगैंचामा पुग्दा त म आश्चर्यचकित भएँ। चिया पिउँदै एलिसा र यमराज हाँसिरहेका थिए। एलिसाको छेउमा गमक्क परेर टमी बसिरहेको थियो।
'क्यानाम जर्नालिस्ट, कता बरालिएर आयौ?' यमराज मलाई देखेर हाँसे, 'यता आऊ, ठूलो आर्टिस्टसित परिचय गराउँछु।'
म हिस्स पर्दै अघि बढेँ।
एलिसाले मलाई वास्ता गरिन। मेरो मन पोल्यो। म लुत्रुक्क परेर छेउमा उभिएँ।
'उहाँ हुनुहुन्छ आर्टिस्ट - टमी डियर।'
मैले पनि वास्ता गरिनँ।
'अब एलिलाई जर्नालिजममा रुचि रहेन, अब आर्टिस्ट बन्छिन्,' यमराजले एलिसालाई आँखा झिक्काए।
टमीले मलाई इसारा गर्यो। मैले उसको मुखछेउ कान लगेँ। उसले भन्यो, 'दाजु, म अब एक्टिङ गुरु भएँ। यो केटीले पनि मलाई लाइन देकी छ।'
अनि ऊ मुसुमुसु हाँस्यो, 'म किन पहिल्यै मरिनँ?'
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर" आमाले चिया
संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो
मामला मा किन किन म decision गर्न एकदम weak भएरहेको थिंए ।
"खान्दानि छन् रे, आंगन पनि ठुलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा
बुझेको थिए । तर कुनै विबाद नगरि म चुप् लागेर कुरा सुनि रहे ।
"एक्लि छोरी, काठमाण्डौंमा दाजु भाई संग बसेर पढेकि, शिल स्वाभाव राम्रो छ,
घर गरिखान्छे हाम्रो" आमा थप्दै हुनुहुन्थो, मलाई चियो भन्दा ति कुरा र
बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै
हुनुहुन्थ्यो ।"मलाई त मन खायो, तंलाई भनेर फोटो मगाएकि छु, ला" आमाले २
वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटि त
राम्री नै हो । मैले झलक्क हेर्दा त्यहि देखें । म रिमोट बटारि रहेको थिंए
। ०-५२ फेरि ० च्यानल सम्म बटार्नु मेरो पुरानो बानि । भरे बुआ आएपछि कुरा
गरौला भनेर आमा गिलास उठाउँदै जानु भयो । आमा गएपछि 'केटिलाई' नियालें ।
मुहार त राम्रै हो । कपाल कत्रो हो प्रष्ट संग देखिएको थिएन । कुर्ता
सलवार, बाहुला नभएको (sleeveless) ले उनका पाखुरा राम्रो संग देखिएको थियो ।
गोरो रंगमा खुलेको । ग्लामसर जस्तो । चस्मा लगाएकि, गोरि, मोटि-मोटि। मैले
त्यो फोटोमा मेरि दुलहि खोज्न थालें ।
आमा खाजा लिएर आउनु भयो । फेरि त्यहि उसिनेको तरुल र टमाटर को चट्नि । मीठो लाग्छ भन्दै मा दिनै पिच्छे खुवाएर हैरान ।
मैले मुख फोरेर भने । पहिले म भेटछु, कुरा गर्छु अनि मात्र हजुर हरु । आमा मान्नु भयो ।
म पनि दंङ्ग परे । खोजे जस्ति श्रीमति पाईने भयो भनेर । खाजा त्यसै मीठो भयो ।
बुआ पनि ढिलो ढिलै आउनु भयो । 'बुढाले बियर दन्काएछन' मन मनै भने ।
'केटि त अर्कै खोजौ है" बुआले खाना पछि भन्नु भयो ।
"किन नि" आमाले अलिक कडा स्वरमा भन्नु भयो ।
"आऽऽऽऽऽऽ अर्कि खोजौ न, मलाई अलिक मन खाएन "
"बिहे तपाईंले गर्ने कि कान्छाले" आमा रिसाउनु भयो ।
मेरो मन कुडिंयो । कस्तो कस्तो कल्पना गरिसकेको थिए, त्यो फोटो कि दुलहि
संग । बुआ, बुढा खुब संसार उनैले बुझेको जस्तो । मलाई पनि रिस उठ्यो ।
" मैले त उ बेला नै ल्याएको नि तंलाई । कान्छाकै लागि भनेको । अझै राम्री
खोज्न पर्यो भनेको ।" बुआ हांस्नु भयो । यसपालि आमाले पनि हुन्छ भन्नु भयो ।
मैले कुर बुझिन, त्यसै मन खिन्न भयो ।
रात भरि खट्पटि भईरह्यो । किन बुआले मन बटार्नु भयो । के भएछ । केटि त
गतिलि जस्ति छे । पढाइ पनि ठिक छ । राम्रि पनि हो । बुआ आमाले आश गरेको जति
देलान नै, नत्र म के काम । फेरि त्यति को लागि मेरो बिहे के रोक्नु
हुन्थ्यो बुआले । किन किन, मैले पत्तो लगाउन सकिन ।
बिहान ४-५ बजेको हुंदो हो । त्यसै बिउंझिए । आमा बुआ गुनगुनाउदै हुनुहुन्थ्यो । मैले कान थापेर सुनें ।
"कहिले रहेछ?" आमाले सोध्नु भयो ।
"खोई BA पढ्दा अरे "
"नेवार केटो थियो रे । खुब संगै हिड्थे रे । टोल छिमेकमा कुरा उठेछ । के के
भयो दैब जानुन । अर्काकि छोरि नदेखि नसुनि बात लाउन हुन्न । अनि पढाईको
बिचमा नै दाजु संग काठमाण्डौं पठाएका रे "
"होस, किन हामी अघि बढ्ने । कुरा उनैले राखेका हुन । छोरो मानेन भनिदिउंला" आमाले भन्नु भयो ।
"कान्छालाई नभन्नु, चित्त दुखाउँछ । फेरि यति सानो कुरा भन्दै उफ्रन्छ । केटा केटि नै छ, एसो केहि भनेर टारिदे न"
मलाई बिस्मात त भयो । तर हांसो पनि लाग्यो । मन मनै सोचें "अब म I
Com.,BBS,MBS पढ्दा जति केटि साथि संग हिडे, डुले, खाजा खाए, बरै कसै को
बिहे नहुने भयो । कठै मेरा केटि साथि हरु । "
जित्नु केहि थिएन । त्यसैले बुआ, आमाको कुरा मैले प्रतिवाद गरिन ।
बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोन मा कुरा गर्दै हुनु हुन्थ्यो
"एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।"
**********************************************************
नाकको फुलि फुकालेकि रहिछन् । उनि बानेश्वरको nds छिर्ने बित्तिकै मैले
उनको नाक notice गरि हाले । चिन्न गार्हो त भएन ? उनि नबसुन्जेल म उठिरहे ।
'भएन' उनि मुस्काइन् । दाँत मिलेका रहेछन् । मेरो पनि सफा गर्नु पर्ने । मैले मेरो अधुरो काम सम्झिहालें ।
'कफि लिने?'
'होइन, म त चिया लिन्छु ।' उनले आफ्नो ईच्छा राखिन् । म ब्लाक कफिमा अडिग भए ।
मैले उनलाई जसरि हेरको थिए, वेटरले मलाई त्यसरि नै ।
'अरु पछि भनौला' यति भनेपछि मात्र वेटर गयो ।
केटा र केटि पहिले भेटने अनि मिल्यो भने मात्र कुरा अगाडि बढाउने भनेर कुरा मैले नै राखेको थिंए ।
केटि B Sc को exam दिएर बसेकि । बुटवल कि केटि । सापकोटा, उपाध्याय बाहुन ।
आमाले को साइनो बाट कुरा मिलाउनु भएको । हाम्रो जस्तै परिवार छ रे । आमाले
भन्नु भएको । कान्छी छोरी, दिदीहरु भन्दा राम्री ।
पुड्कि नै त होईन तर हाइट कम । म पो कौन सा अग्लो छु र? जोडि त मिल्छ । मैले मन मनै गुने ।
'अनि फुर्सद मा के गर्दै हुनुहुन्छ?' ५ मिनेट सोचेर मैले प्रश्न सोधें ।
'buffalo को metabolism को बारेमा एउटा paper follow गर्दै छु ।" मेरो उडेको प्रश्नलाई उनले discrete उत्तर दिइन् ।
मैले abstract expression देखांए ।
केटि कडा रहिछ । निचोड संगै मैले कफि घुटुक्क पारे ।
'carrier को main turning point मा बिबाह सोच्नु भएको?' मैले पनि वजनदार प्रश्न फालें ।
उनि एकछिन सोच्न थालिन् । मलाई कता कता खुसि लाग्यो । राम्रो प्रश्न गर्न सफल भएकोमा ।
कपाल खेलाउँदै निकै बेर अन्कनाएपछि उनि बोल्दै थिइन् । त्यति नै बेला वेटर आइपुग्यो ।
'केहि order गर्नु न ल' उनले मेनु मतिर फर्काइन् ।
'दुईवटा चिकेन रोल र एउटा फ्रेन्च फ्राई ।' अर्डर गरेपछि आफैलाई गालि गरे ।
बानेश्वरको nds को रोल एकदम झुर हुन्छ ।
'एउटा चांहि भेज गर्नु ल' उनले यस पटक पनि order change गरिन् ।
'चिकेन मिठो लाग्दैन?' मैले केहि नसोचि, केटा साथिलाई जस्तो प्रश्न गरें ।
'im vegetarian'
'एएएऽऽऽऽ' मलाई नराम्रो पनि लागेन । मेरो reaction neutral थियो ।
उनले आफ्नो भनाई सुरु गरिन् । ब्याग टेबल मा थियो । टिस्सि पेपर झिकेर हातमा लिइन् ।
'म master's लाई apply गर्दै छु, Australia, यो session मा' ।
'अब गएपछि फेरि ३-४ बर्षमा मात्र आइएला । दिदी हरुको बिहे भएसक्यो । घरमा
मेरो मात्र बाकि, ममि बाबा को मन पनि राखिदिनु पर्यो । फेरि पछि आफुलाई पनि
ढिला हुन्छ । त्यसैले अहिले गर्ने सोचेको ।'
उनि भन्दै गइन् । कफि वा उनको कुरा, के ले मलाई झुम्म बनायो, थाहा भएन ।
'युनिभर्सिटिले अफर लेटर पठाइसक्यो । ADB को scholarship पाएको छु ।
त्यसैले राम्रो छ chance । Australia मा dependent ले काम गर्न पाउँछन ।
so, Post graduate partner भयो भने सजिलो हुन्छ भनेर, हजुर संग कुरा चलेको
हो ।'
'अनि पढाइ पछि , के गर्ने ?' मैले एकै चोटि अन्तिम प्रश्न सोधें ।
'clearly भनौं है । अब यत्रो try गरेर पढेर फेरि यहि नेपालमा struggle
गर्ने त आंउदिन । बरु retired life मा आंउला । this is my plan and vision
of life, त्यहि हो । ' आंखी भौं उठाउँदै उनले आफ्ना बिचार राखिन् ।
'भनेपछि कहिले को session लाई try गरेको?'
'२ महिना मा session शुरु हुन्छ । भ्यायो भने यहि महिनामा, नत्र document बनाउन ढिला हुन्छ ।'
कफि हिउं चुलि भएको थियो । म पनि सोचमा हराए ।
मेरो ACCA सकिन अझै तीन paper बाकिं । गए पनि मैले uk को सोचेको हो ।
Australia को त मैले सोचेको नै छैन । यि त तपसिलका कुरा, मलाई सबै भन्दा
गाह्रो र अफ्ठ्यारो लागेको को कुरा त "आफु qualified भएर, स्वास्निको
dependent भएर Australia जानु, भात पकाउन ??" मलाई मेरो दिमाग मा गढेको
पारम्परिक पौरुषता को आडम्बर र रुढिबादि सामाजिक सोचले तर्सायो, उकास्यो ।
कता कता आफैमा डुबेको थिंए । कुन त nd's को नमिठो चिकेन रोल त्यहि माथि चिसिएको ।
'तपाईं को के छ plan?' उनको पालो थियो सोध्ने ।
म असमन्जस्यमा परें ।
'म सोच्दै छु ।' मैले साँचो उत्तर दिएं ।
'अफ्ठ्यारो नमानि भने हुन्छ ।'
उनको नाकमा टोमेटो सस लागेको रहेछ । उनकै हात बाट टिस्सि पेपर लिएर मैले पुछिंदिए । उनि शर्मिलो मुस्काइन् ।
'फेरि कफि खाँउ है' भनेर मैले एउटा black coffee र एउटा milk tea मगाएं ।
उनले होइन, दुइ वटै black coffee भनिन् । म हासें । उनि पनि ।
कफि आयो, लामो सास लिएर मैले सुरु गरे ।
'I don't want to break my study right now. अब शुरु गरि सके । बिचमा म
छोड्न सक्दिन । अनि मैले त्यस्तो permanently abroad जाने plan गरेको छैन ।
I have to be with my parents'
लप्पन-छप्पन excuses नगरि मैले सिधा शब्दमा मेरो व्यवहार र वास्तविकता राखें ।
'you are a good person' उनि कफि खादै हांसिन् । नाक मा केहि लागेको थिएन र पनि नाक पुछिरहेकि थिईन् ।
चिनि पुगेनछ । एक चम्चा थपिन् । मैले पनि मेरो कप अगाडि बढाए । उनले मेरो मा पनि हालि दिइन् र चिनि घोलिन् ।
'sorry, मैले हजुरको कफि जुठो गरिदिए' उनले भनिन् ।
'अव मीठो हुन्छ होला' म हांसे ।
केहि बात पछि उनले नै भनिन् । ' अफ्ठ्यारो मान्नु पर्दैन. We have our own
paths of life. Our paths are different so leave this issue. Take it
easy. I can handle my parents'
उनि English बोल्दा बढि comfortable थिइन् । उनको कुरा ले मलाई पनि सजिलो भयो । नत्र आमा बुआ लाई कुरा वुझाउन गाह्रो हुन्थ्यो ।
मेरा साथि हरु म भन्दा राम्रा छन नि, म हजुर को बारेमा कुरा गर्छु ' बाकि
रहेको एक मात्र finger chips मा धेरै सस दलेर उनले मीठो मानि मानि खाइन् । म
हासें ।
'मेरा पनि batch mate हरु छन Australia म भन्दा पनि good persons हरु । ill provide their id to you.'
हामी दुबै जना मरि मरि हास्यौं ।
उनले डायरि निकालेर मेरो email id मागिन् ।
मैले सकेसम्म राम्रो अक्षरमा लेखें
***************************
"सुष्मा हो नि केटि को नाम, बिर्सेलास!' आमाले हिड्नु अगाडि भन्नु भयो । म झसंग भए । शंका दह्रो भयो ।
हाम्रै कलेज पढेकि केटि भनेपछि चिनेको त होला भन्दै थिए । न्यौपानेकी छोरी, सुष्मा । सुष्मा न्यौपाने । २ ब्याच जुनियर ।
हेर्ने जाने भनेर जुत्ता लगाइसकेको थिए । आमालाई केहि भनिन । जुत्ता मा पालिस लगाउन बाकिं थियो । मन लागेन, लगाइन ।
'रमेशको अफेयर चलेको थियो, कलेजमा । डेढ बर्ष अगाडि उ US गएको थियो । तर कलेज पछि सुष्मा को बारेमा मलाई जानकारि भएन ।
के भन्ने के गर्ने जस्तो भयो । केहि भनिन ।
वुआ पनि रेडि हुनुभयो ।
'जाउँ हिड' भन्नु भयो । म पछि लागे । आमा बाहिर सम्म निस्कनु भयो ।
'सापकोटा' केटिको कुरा असफल भएपछि आमा मेरो बिहेलाई लिएर झन जोड तोड का साथ लाग्नु भएको थियो ।
'यो फाल्गुणमा जसरि पनि कान्छाको बिहे गर्ने' बुआ संग प्राय: नझर्किने मेरी
आमा ले एक सांझ कडा स्वरमा भन्नु भयो । त्यो दिन बुआ त केहि बोल्नु भएन,
मेरो त के कुरा ।
पुरानो बानेश्वरमा दिदि लाई लिएर हामी मैतिदेवि तिर लाग्यौ ।
'यो DENIM कति धेरै लगाएको' दिदिले बुआको aftershave को कडा बास्ना को विरोध गरि ।
'आफ्नो गालामा मनलागे जति दल्न पर्छ, हा हा हा हा' खैनि खाने मेरो बुआका दाँत कहिल्यै सेता भएनन् ।
दिदी र बुआ गफमा भुल्नु भयो । म सुष्मा र रमेशको पुरानो relation सम्झंन थाले ।
क्यान्टिनमा प्राय: उनिहरु संगै हुन्थे । हामी पनि कहिले काहि उनिहरु को
group मा सामेल हुन्थ्यौ । रमेशले propose गरेको १ बर्षपछि मात्र accept
गरेकि थिइन् सुष्माले । मैले त्यस्तै सुनेको थिए । एउटै batch भएपनि
Section फरक भएर होला, रमेशसंग त्यस्तो गहिरो र नजिकको दोस्ति भने थिएन
मेरो ।
कस्तो संयोग होला, आज म सुष्मालाई हेर्न जादैछु!!! के हो के हो जिवन । कहिले कहां डोहोर्याउँछ कहिले कहाँ ।
One way भएकोले गाडि वरै पार्क गरेर हामी हिड्यौ । दिदीले घर देखेकि थिइं, उ
नै अघि लागि । बुआ र म पछि । मैतिदिविको मन्दिर अगाडि सदा झैं यो पटक पनि
टाउको निहुर्याए ।
Rent को फ्लाटमा बसेको रहेछन् । दोस्रो तल्ला । मिलाएर सजाएको कोठा, सफा ।
नियमित गफ सुरु भए । वातावरण सन्तुलित अनि familiar बनाउने पारम्परिक नेपालि गफ ।
पहाडका गफ बाट ice break भयो ।
'यसका मावलिको चाहि गुल्मी चन्द्रकोट,आहिले बुटवल हामी चाहिं १८ सालमा झरेका ।'
बुआ बोल्दै हुनुहुन्थ्यो । दिदी कता अर्को कोठामा गएकि थिइ । म भने त्यो भाइ संग त्यसै काम न काज संग दांत देखाएर बसेको ।
कोठाका सबै थोक नियाल्दै गए । भित्ताका सजावटहरु, सोकेसका श्रृंगारहरु,
भुईका गलैचाहरु । टेवल मुनि 'नेपाल' पत्रिका रहेछ । सजिलो भयो ।
बुआ गफमै हुनुहुन्थ्यो । ' यहि कान्छो को मात्र बाकिं, यसको बिहे गरेर हामी
चांहि १२ धाम घुम्न जाने सोचेका छौं । हात खुट्टा चल्दै जानु पर्यो नि ।'
'बियर र सुर्ति छोड्नु नि, १२ धामका गफ' मेरो अफ्ठ्यारो समेत मिसाएर मैले बुआलाई मन मनै गालि गरे ।
उनि आइन्, कुर्ता सलवारमा । कपाल पछाडि बाधेको । ट्रेमा चिया बोकेर ।
पहिले बुआलाई दिईन् । अनि उनका बुआलाई दिदै थिईन्, वहांले मतिर इशारा गर्नु
भयो । त्यहि कप उनले मतरि राखिन् । मैले अफ्ठ्यारो हातका साथ लिए ।
झन आवाज ननिकालौ भन्यो, कप त्यसै बज्छ । चिया पोखिएला भन्ने कत्रो त्राहि मलाई ।
'संगै बसे भै गयो नि' को देखेको मान्छे भनेको त दिदिको साथि पो हुनुहुदो रहेछ । उठेर नमस्कार गरे ।
'म सुष्मा को दिदी' उनले नै भनिन् । बल्ल बुझे, लमि त दिदिहरु पो रहेछन् । सुष्मालाई ल्याएर म सँगै राखिन् ।
बस्दा उनलाई अलि अलि छोइएको थियो । गाह्रो गरि चियाको पहिलो चुस्कि लिए ।
आथ्था, कस्तो तातो । तालुको छाला सबै पोल्यो ।
कप राखें । तालुको छाला गएछ । मैले जिब्रो भित्र भित्रै बटारिरहें ।
'ल हेर त अफ्ठयारो मानेका, उ पल्लो कोठामा बसेर गफ गर, सजिलो हुन्छ ।' मेरि
दिदी बुझ्झकि भईसकेकि थिई । व्यवहार जान्ने, कुरा बुझ्ने, मिलाउने ।
हामी अर्को कोठामा लाग्यौ । सुष्मा अलिक सहज भईन् । म पनि ।
म कुर्सिमा बसे, उनि खाटमा । उनकै कोठा रहेछ । चक्लेटि कुरा ले सजाएको ।
'सुष्मा, मैले हिड्ने बेलामा मात्र थाहा पाए । तिमी कहां आउंदैछु भनेर ।'
उनि अलिक निन्याउरो भइन् ।
'मलाई पहिले नै थाहा थियो, तपाई हो भनेर, त्यसैले नाईं पनि भन्न सकिन '
मेरो प्रसंसा हो वा बिवाह को मन्जुरि मैले बुझिन ।
'पढाउँदै छौ हैन?' मैले प्रसंग बदल्ने प्रश्न गरे ।
'हो' उनले केहि कुरा भन्न सास जोगाउँदै थिइन् । यो कुरा म जति बुझ्दै थिए त्यति नै अफ्ठ्यारो लाग्दै थियो ।
'सुष्मा, I don't know what happened between you and ramesh. I only know he is abroad. '
मैले जति रोक्न खोजे पनि यति नभनि म बस्न सकिन ।
निहुरिएकि थिइन् । उनका आँखा भरिएका थिए । त्यहां कुरा गर्न अफ्ठ्यारो थियो
। तर पनि हामी त्यहां बाट उठेपछि धेरै महत्त्वपुर्ण decisions हरु हुन्थे
त्यहि भएर कुरा गर्न जरुरि थियो, सजिलो अफ्ठ्यारो एकातिर राखेर ।
'im in real dilemma. उनले धेरै बेर पछि आफै भनिन् । हो, रमेश र मेरो
affair थियो । we still have in some way. सगै us जाने प्लान थियो । तर
मेरो GMAT एकदम खत्तम भयो । toefl पनि दिएको थिईन । फेरि उसले ra पाएको
थियो । उ गएपछि process गर्न एक्लै पनि भए, गाह्रो पनि भयो । अहिले idle
जस्तो भएर बसेकोले बिहेको कुरा बढेको हो ।'
'अनि उ के भन्छ?'
'मैले बिहेको कुरा भनि सके । उसले म समर मा मिलाएर आउंछु भनेको छ । यो ३ महिना पर्ख, hold गर भनेको छ ।'
'अनि, parents लाई भनेको छैनौ त?'
'भनेको हो पहिले नै । अरु बेला ठिकै छ भनेर मान्नु पनि भएको हो । तर यो
पालि, केटा गतिलो छ । अब सधै बिदेशकालाई कुरेर पनि हुदैन । कुरा मिल्यो भने
यहि संग गर्नु पर्छ भनेर ममि ड्याडिले जिद गर्नु भयो । मैले वहां हरुलाई
जित्न नै सकिन ।' उनले कुरा नढाँटि राखिन् ।
म सोचमा परे । एक त आफ्नो बिहे को यत्रो संघर्ष अर्को साथीको नासो । सबै
कुरा मिलेको छ । घर, परिवार, हाम्रो सोच । सबै थोक । सुष्मा संग बिवाह
गर्दा सबै खुसि, उनको परिवार, मेरो परिवार र म पनि । तर पनि मन भन्दा ठुलो
कुरा केहि हुन्छ र???
धेरै सोचैर मैले आँट गरेर सोधे 'म के गरौं?'
'please, reject me. It will be easier for me. Please!!!!!'
मैले अपेक्षा गरेको नै उत्तर पाए ।
केहि बेर को मौनता पछि दिदी आई ।
'एकै चोटि कति लामो कुरा गरेका । जाउँ अब' उ जिस्काउँदै थिई ।
घर फर्कन गाडिमा बसियो । बुआ र दिदी पछाडि मेरो भविष्य बुन्दै हुनुहुन्थ्यो
म भने तिनै पालिस नलगाएका जुत्तामा आफुलाई नियाल्दै थिएं ।
*****************************
कुनै अपराधि जस्तो झोक्राएर बसिरहें । रिमोट बटारिरहेको थिए । आमा चिया लिएर आउनु भयो ।
'आफै कोहि हेरेको छस् भने खुरुक्क भन् , के नाटक गर्छस?' शुरुमै पड्कनु भयो ।
'छैन, कोहि पनि छैन ।" मैले मधुरो स्वरमा छोटो उत्तर दिएं ।
'के भनेर बात लाउँछस्, अर्काकि छोरीलाई । उता तेरि दिदि रिसाएर बम छे । के भन्छस उसलाई । आउँदिन रे अब देखि तेरो घरमा ।'
'बिचरिले साथीकि बहिनि भनेर, पक्का होला भन्दै कुरा मिलाएकि रहिछ । मुखै
देखाउन नहुने बनायो भाइले भनेर चित्त दुखाएकि थिइं ।' आमा सुनाउँदै
हुनुहुन्थ्यो । मलाई भने यो प्रसंग जति सक्यो छिटो बन्द गर्न मन थियो ।
'आऽऽऽ, अब छोडिदिनु यो कुरा, म अहिले बिहे गर्दिन । अब ACCA सकेपछि मात्र ।'
'कसले समातेको छ र?, तंलाई जे मन लाग्छ त्यहि गर ।
हन, सुन कै चाहिएको होकि ? के हो' आमा सुकाएका लुगा पट्याउँदै बोलि रहनु
भयो । म ति कुरा सुन्दै गए । रिमोट बटार्दै गए । म संग बिकल्प थिएन ।
'कति गतिलि केटि थिई, राम्रि उत्तिकै । बिचार मिल्दैन रे !!!!
के का बिचार मिल्न पर्यो । '
'तै पनि त आमा' अलिकति प्रतिवाद गर्न खोजेको थिए ।
'स्वास्नि ले माया गरि हाल्छे, त कमाइ हाल्छस, के हो बिचार नि । हामीले
कालो गोरो, बुढो तरुनो, केहि नहेरि बिहे गरियो । खुशी नै छौं, सुखी नै छौं ।
तैले के खोजेको होस, मैले बुझिन ।'
मैले प्रतिवाद गर्न सकिन । उचित पनि लागेन । फेरि कमै मात्र उठने मेरी आमाको रिस को बेग धेरै हुन्छ ।
आमा लुगा पनि सबै नमिलाई त्यहां बाट हिड्नु भयो । म भने त्यसै के के सोच्दै सोफामा ढल्केर कुराहरु बुनिरहे । उधारि रहें ।
'बिचार मिलेन, फेरि म भन्दा अग्लि रहिछ' यि भन्दा अरु बाहाना मैले दिन सकिन, सुष्मालाई reject गर्न ।
आमा उग्र रिसाउनु भएको थियो । दिदी को त झन कुरै अर्को । हाम्रो मा अब नआउने रे । बुआले आफ्नो भाग बिहान नै भनेर हिड्नु भएको थियो ।
'नाक निके को भागमा झुसिल्किरो पर्छ, कान्छा । साना तिना कुरा खोदल्दा
जिन्दगि लडाउलास्, आगे तेरो विचार' यति भनेर वुआ ४ दिन लाई बाहिर जानु भएको
थियो । आमाको १०० वटा गालि भन्दा बुआको एकै भनाई ले मलाई चिमोटि रह्यो ।
यस्तै यस्तै कुरा मा रुमलिईरहें । त्यहि सोफामा निदाएंछु । त्यहि टिभि कोठामा । गहिरो गरि निदाएको नै त होईन, तर पनि झपक्क भएछुं ।
टिभि खुल्लै थियो । आमा कति बेला हो आउनु भयो ।
'हेर त, आफ्नो खाटमा त सुत्नु' बिस्तारै आफै सित गुन्गुनाउनु भयो । मैले आँखा खोलिन् ।
टिभि निभाउनु भयो । मेरो नजिकै आउनु भयो । अनि मेरो निधारमा हात राख्नु भयो
। च्यादर ल्याएर ओडाईदिनु भयो । जाँदा मेरो चिया को गिलास बोकेर जानु भयो ।
यस पटक चाँहि म मज्जाले निदांए ।
भोलिपल्ट म अफिस बाट छिट्टै निस्के । के मन लाग्यो, असन पुगें ।
ईन्द्रचोकमा गएर कालो दाल किने । यता उता हिड्दै लसुन, अदुआ, तेज पत्ता,
मरिच , के के के के । यस्तै यस्तै कुराहरु । किन किने थाहा पनि छैन । यसो
हेरेको पारि पट्टि को पसलमा चप्पलहरु रहेछन् । राम्रो लाग्यो । आमालाई
लिईदिए ।
घर पुगेर आमालाई झोला दिए ।
'अर्को हप्ता सत्यनारायणको पूजा लाउने भनेर आज मात्र गुरुजि संग सल्लाह
गरेको थिंए । स्वस्ति शान्ति गर्नु पर्यो भनेर । कस्तो जानेर ल्याएछ सामान,
म अब जानै परेन ।' आमा खुशी हुनुभयो । मलाई पनि हलुका भयो ।
खाजा संगै आमाले फेरि प्रस्ताव पस्कनु भयो ।
'आमा, भयो यसपालि बिहे नगरौं । अर्को साल, मेरो पढाई पनि सकिन्छ ' मलाई
मेरो दुलहि खोजिको संघर्षले धेरै थकाएको थियो । मैले टार्न खोजे ।
'यहि एउटि मात्र, तलाई चित्त खाएन भने म केहि भन्दिन । त्यसपछि त जहिले भन्छस तहिले'
म चुप लागें । नाई पनि भन्न सकिन ।
'दिदीले खोजेकि हो । उसका घरतिर कि केटि हो रे । नर्स।'
निकै बेर चुपलागे पछि मैले भने ' ल आमा, तपाई र दिदी गएर हेर्नु, तपाई दुई
जनालाई मन खायो भने, त्यहि केटि जिन्दाबाद । म केहि नभनि बिहे गर्छु ।
हुन्छ??'
'बजिया' यति भनेर आमाले मेरो टाउको मुसार्नु भयो । त्यो पल साह्रै मीठो थियो ।
आमा दिदि संग फोनमा कुरा गर्दै हुनुहुन्थ्यो । म star movies मा अडिग भएर सोच्न थाले
'जन्तिमा को को साथी हरु बोलाउने????'
-Aakar Post