Tuesday, June 12, 2012

नेपालको अर्थराजनीति र अपविकास

प्रस्तुति: प्रा.डा. चैतन्य मिश्र पुँजीवादलाई नियाल्दा विकास, अविकास र अपविकासको प्रसंगलाई चर्चा गर्नु उपयुक्त हुन्छ । विकास भनेको यस्तो अवस्था हो, जुन अवस्थामा श्रम र पुँजी एकाकार भएको हुन्छ । पुँजी लगानीले छरिएको श्रमलाई एकीकृत गर्छ भने श्रमिकलाई बाँच्ने आधार दिन्छ । साथै, श्रमिकबाट वस्तु वा सेवाको निर्माण हुने भएकाले यी दुई तत्वको एकीकरणबाट विकास हुने हो । विकसित र अविकसित मुलुकबीचको अन्तरसम्बन्ध तथा लेनदेन शून्य रहेको विशिष्ठ अवस्था नै अविकास हो ।
इतिहासको लामो कालखण्डसम्म राष्ट्र–राष्ट्रबीच धेरै लामो समयसम्म अविकासको सम्बन्ध रहे पनि पुँजीवादको विकासक्रमलाई नियाल्ने हो भने पछिल्लो ४–५ सय वर्षयता यो घनिभूत भएको पाइन्छ । विशेषगरी पुँजीवादको विकासक्रमसँगै औपनिवेशिकताको माध्यमबाट अविकासको अन्त्य भएको मान्न सकिन्छ । अविकासको अन्त्यसँगै विकसित राष्ट्रहरू जब अविकसित मुलुकमा औपनिवेशिकताको माध्यमवाट प्रवेश गरे, त्यही बेलादेखि नै अपविकासको थालनी भएको मान्न सकिन्छ । विकसित देशको प्रवेशसँगै अविकसित देशहरूले एकआपसमा जब सामाजिक, आर्थिक अन्तक्र्रियालाई घनिभूत पारे, अविकासको त अन्त्य भयो भने अपविकासको पनि प्रवेश भयो ।
उपनिवेसको माध्यमबाट जब विकासितले अविकसित मुलुकहरूलाई आफ्नो घेरामा हाले, त्यतिखेर अविकसित मुलुकमा जुन अवस्था देखाप¥यो, त्यही अपविकासको प्रमुख कडी हो । अझ प्रष्ट रूपमा भन्नुपर्दा विकसित अर्थतन्त्रले अविकसित अर्थतन्त्रलाई गाँज्नु नै अपविकास हो ।
पहिला मुलुकहरू छुट्टाछुट्टै थिए, आफ्ना आफ्नै तरिकाले चलेका कारण एक–अर्काबीचको लेनदेन छँदै थिएन । ५ सय वर्षयता भएको पुँजीवादको  विकास क्रमसँगै यो प्रक्रिया भत्कियो ।
पुँजीवादको विकासक्रमलाई हेर्दा उसको मुख्य चरित्र मानिने उपनिवेश, अन्तर्राष्ट्रिय बजारको स्थापना, लगानीले गर्दा अविकसित राष्ट्रहरूको अर्थतन्त्रमा एक प्रकारको नयाँ तरंग नै आयो ।
पुँजीवादको आरम्भपछि पुरानो भत्किएर नयाँ प्रक्रियाको थालनी भएका कारण नै तरंग आएको हो । विचारणीय प्रसंग के छ भने यसरी विकासित देशहरू अविकसित देशमाथी हाबी हुँदा त्यहाँको अर्थतन्त्रले गति दिए जस्तो लागे पनि ठीक उल्टो गतिमा हिँडेको छ । यसरी विकसित अर्थतन्त्रले अविकसित अर्थन्त्रलाई गाँज्दा आउने संक्रमण नै अपविकास हो ।
विगत ३ सय वर्षअघिसम्मको अवस्थालाई नियाल्ने हो भने संसारकै धनी तथा वैभवशाली राष्ट्रहरूमा भारत र चीन पथ्र्यो । थोरै श्रममा धेरै उत्पादन गर्न सक्नेमा यी राष्ट्रहरू पर्थे । त्यो समयको कुरा गर्दा पनि स्वयम् नेपाल नै मल्लकालको मध्यतिर समृद्ध थियो । अर्को विचारणीय पक्ष भनेको अहिलेका आर्थिक रूपमा धनी मानिएका युरोपेली मुलुक र अमेरिका २ सय ५० वर्षअघिसम्म गरिब थिए । भारत र चीनमा विश्वकै धेरै जनघनत्वले के पुष्टि गर्छ भने यी राष्ट्रहरू विगतमा आर्थिक रूपमा समृद्ध थिए ।
जहाँ विकास हुन्छ, जनसंख्याको चाप सँगसँगै बढ्दै जान्छ । भारत र चीनमा भएको तीब्र आर्थिक विकासले गर्दा जनसंख्याको चाप बढ्दै गएको हो । चीनको ह्वाङ्हो र भारतको गंगा नदीले विशाल क्षेत्र सिञ्चित गरेका कारण धेरै उत्पादन हुने भएकाले त्यस ठाउँमा जनघनत्व बढेको हो । प्रकृतिले साथ दिएको यस्ता ठाउँहरू विश्वमा कम थिए भने राज्य व्यवस्था पनि व्यवस्थित र बलियो थियो, जसका कारण ती राष्ट्रहरूले समृद्धि प्राप्त गरेका थिए । इतिहासको कालखण्डमा समृद्धि र दुर्गतिको कालमा उतारचढाव हुने भए पनि भारत र चीनमा समृद्धि धेरै लामो समयसम्म रह्यो । सोही समयमा नेपाल पनि अपविकासबाट मुक्त थियो, यसको बलियो प्रमाण मल्लकाल हो । अपविकासको प्रष्ट परिभाषा भनेको विकसित राष्ट्रले अविकसित मुलुकको अर्थ राजनीतिलाई आफ्नो वशमा राख्ने प्रक्रिया हो ।
अपविकासको मुख्य चरित्र भनेको बजारीकरण हो, गरिब देशबाट धनी राष्ट्रले सस्तोमा कच्चा पदार्थ लगेर सामान उत्पादन गरी त्यही सामान फेरि गरिब राष्ट्रलाई महँगोमा बेच्छ । जस्तोः भारतले सस्तोमा नेपालबाट कपास लैजान्छ र उसले कपडा बनाएर नेपाललाई महँगोमा बेच्छ ।
सस्तोमा कपडा बेचेर महँगोमा कपडा किन्दा नेपालले केही हदसम्म भारतको अर्थतन्त्र, श्रम बजारलाई थेगिरहेको छ । जस्तो नेपालीले भारतीय कपडा किन्दा भारतको अर्थतन्त्रलाई सहयोग पुग्छ भने त्यहाँका मजदुरलाई पनि पालिरहेको छ । यो प्रक्रियाले नेपालमै हुनुपर्ने पुनर्लगानी वातावरणलाई बिगारेको छ । यस्तोखाले अपविकासको प्रक्रिया विगत लामो समयदेखि चलिरहेको छ भने अझै यो मजबुत छ ।
अपविकास भनेको देश–देशबीच मात्र हुने होइन, यो एउटै देशभित्रै पनि व्याप्त हुने विषय हो । जस्तो, काठमाडौंको विकासले सिन्धुपाल्चोकको विकास अवरुद्ध हुन्छ । सिन्धुपाल्चोकमा हुनुपर्ने लगानी काठमाडौंमा भएपछि सिन्धुपाल्चोक पछाडि पर्छ । गाउँका युवा सहर पसेपछि गाउँमा विकास अवरुद्ध हुनु स्वाभाविक हुन्छ । गाउँमा मान्छे नभएपछि अस्पताल, कलेज, विद्यालय, कलकारखाना कसैले खोल्दैनन् । एक ठाउँले अर्को ठाउँलाई छायाँमा पार्ने प्रक्रिया भएकाले अमेरिका–भारतले हामीलाई छायाँमा पा¥यो भन्ने मात्र होइन कि एउटै देशमा सहरले गाउँलाई, पूर्वले पश्चिमलाई ओझलेमा पाछैन, यो अपविकासको मुख्य चरित्र हो ।
अपविकासमा फसिसकेपछि हाम्रोजस्तो मुलुकका स्रोत सम्पदा, श्रम विदेश वा अन्यत्र गएर एकीकृत हुन्छन् । विकासका लागि पुँजी र श्रम दुवैलाई एकीकृत गराउनुपर्नेमा अपविकासले यी दुईबीच दरार ल्याउने काम गर्छ । जस्तो ः नेपालका नदीहरूबाट भारतको भूमि सिञ्चित भएर भारतमा रोजगारीको सिर्जना हुन्छ तर नेपाली काम खोज्दै त्यहाँ पुग्छ । नेपालभित्रै पानी र भूमिमाथिको लगानी एकाकार हुने मौका नमिल्दा हामी अपविकासमा फस्यौं ।
नेपालको श्रम नेपालमै खपत भएको भए यहीँको विकास हुन्थ्यो, सस्तो श्रम बेच्न बाध्य हुँदैनथ्यो । श्रमिकले कमाएको रकम स्वदेशमै परिचालन हुने हुँदा एक जनाको मात्र नभई अन्य नागरिकको पनि आर्थिक अवस्था बलियो हुन्थ्यो । तर, अहिले मजदुर गएका छन्, उनीहरूले कमाएको रकम त्यहीँ खर्च भएको अवस्था छ ।
हाम्रो जस्तो अविसिकत देशमा पनि लाखौं मोटरसाइकल र कार खपत भइरहेको सन्दर्भमा अविकसित भन्ने हाम्रो जस्ता देशहरूले विकसित राष्ट्रका पुँजीपतिलाई नाफा दिइरहेका छौं भने कामदारलाई रोजगार दिइरहेका छौं ।
उल्लेख गर्न खोजिएको मुख्य विषय भनेको अपविकासको यो चक्रबाट मुक्त गर्न सकियो भने मात्र हामै्र श्रमिक तथा पुँजीपतिलाई नाफा दिन र तलब खुवाउन सक्छौं ।
अपविकासको चक्रबाट मुक्त हुनु भनेको आफैंमा गाह्रो विषय हो । विकसित देशबाट सामान आयात रोक्न पनि सक्दैनौं भने विदेश जाने कामदारलाई नियन्त्रण गर्न पनि सक्दैनौं । कामदारको रेमिट्यान्सबाट तत्काल केही फाइदा देखिएको छ । पछिल्लो समयमा विकसित पुँजीवादको मुख्य मन्त्र भनेको स्थानीय सस्तो श्रम नै हो । उल्लेखनीय कुरा के हो भने हामी सस्तो श्रम बेच्न पनि स्वतन्त्र छैनौं । किनकि हामीले सस्तो श्रम बेचेकै कारणले त हामीलाई अरब राष्ट्रहरूले निम्तो दिइरहेका छन् । महँगो श्रम बेच्ने भनियो भने त उसले वास्तै गर्दैन ।
हाम्रो अपविकासको यो चक्र तोड्नलाई सस्तो श्रमलाई पुँजीसँग एकाकार गर्नु त अवश्यक छ नै । स्वभाविक प्रश्न उठ्छ, एकाकार गर्ने जिम्मेवारी कस्को ? पुँजी र श्रमलाई एकाकार गर्ने जिम्मेवारी सरकारको त हुँदै हो, यसमा राजनीतिक दलको न्यायपूर्ण मिलेमतोको अवश्यक छ ।” अहिलेको जस्तो श्रमिक र पुँजीपतिको झगडाले अपविकासलाई नै स्थायित्व दिन्छ । अहिले जति पुँजीपतिबाट समस्या सिर्जना भएको छ, त्यत्ति नै श्रमिकबाट पनि । श्रम संगठनका नाममा उद्योग राजनीति गर्ने थलो भएको छ । यसको घाटा उद्योगपतिलाई त छँदै छ, यसले स्वयं श्रमिकलाई पनि ठूलो घाटा पु¥याउँछ । उद्योगलाई राजनीति गर्ने थलो बनाउने दलहरूलाई यसले ठूलो असर पारेको हुन्छ भन्दा फरक नपर्ला । उद्योग बन्द भएपछि मुलुकको श्रम सम्बन्ध, अर्थराजनीति सबै अन्य मुलुकसँग परनिर्भर हुन्छ । दलहरू पनि ती विकसित आफू निर्भर राष्ट्रको दबदबामा राजनीति गर्नुपर्ने बाध्यता हुन्छ । नेपाली राजनीतिको वर्तमान चरित्र पनि यही हो, अपविकासका कारण राजनिति थिचोमिचोमा परेको छ । आर्थिक परनिर्भरतासँग यसको गहिरो तर प्रत्यक्ष सम्बन्ध छ ।
अर्थतन्त्रको मुख्य आधार मानिएको श्रमिक र पुँजीपति वर्गबीचको सम्बन्ध सधैं कटुतामा राखेर विकास हुन नसक्ने भएकाले यी दुई वर्गलाई मिलाउने काम सरकार तथा रजनीतिक दलको हो । यो प्रक्रिया राष्ट्रियस्तरको साथै स्थानीयस्तरमा पनि लागू गर्नुपर्छ । श्रमिक, सरकार र पुँजीपति आ–आफ्नै दिशामा फर्केको हालको अवस्थाले अपविकासलाई निरन्तरतामात्र दिन्छ ।

No comments: